
सुर्खेत । व्यवसायीहरूको छाता संस्था सुर्खेत उद्योग वाणिज्य संघमा विवाद बल्झिएको छ । सदस्यता नवीकरणलगायतका विषयमा केही समययता व्यवसायीहरू विभाजित छन् । उक्त असमझदारी हल गर्ने प्रयास गरेपनि सार्थक बन्न नसकेको हो । संघको नेतृत्वप्रति असन्तुष्ट व्यवसायीहरूले सोमवार पुनः कार्यालयमा तालाबन्दी गरेका छन् ।
सदस्यता विवाद सुल्झाउन आफूहरूसँग यसअघि गरिएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट समूह फेरि आन्दोलित भएका हुन् । पदाधिकारीहरू प्रतिबद्धताअनुसार अघि नबढेको असन्तुष्ट पक्षको आरोप छ । केही दिन पहिले दुई पक्षबीच सहमति भइ आन्दोलनका कार्यक्रम स्थगित गरिएका व्यवसायीले विवाद सुल्झाउनुको साटो नेतृत्वले बेवास्ता गरेको बताएका छन् ।
केही दिन पहिले विवाद चुलिँदै जाँदा संघको कार्यालय परिसरमा झडपको स्थिति बनेको थियो । सोही विवाद समाधानका लागि स्थानीय प्रशासनको रोहबरमा व्यवसायीहरू आपसी समझदारीमा अघि बढ्न तयार भएका थिए । फागुन २० गते सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी संघका वर्तमान र पूर्व अध्यक्षहरूको पाँच सदस्यीय विवाद समाधान समिति बनाइएको थियो । उक्त समिति बनेपछि असन्तुष्ट व्यवसायीले आन्दोलनका कार्यक्रम रोकेका थिए ।
व्यवसायी एकता र संस्थाको हितका लागि सदस्यता नवीकरणको माग राखिए पनि त्यसको सम्बोधन नगरी एकलौटी रूपमा अघि बढेपछि आफूहरू पुनः आन्दोलित हुन बाध्य भएको व्यवसायी पूणर्देव अधिकारीले बताए । उनले व्यवसायीले राखेका जायज माग सम्बोधन हुने गरी छलफल थाल्नुपर्नेमा त्यसो हुन नसकेको जनाए । ‘बहुमतको आडमा संघका पदाधिकारीहरू तोकिएकै मितिमा अधिवेशन गर्नेगरी अघि बढिराख्नु भएको छ,’ उनी भन्छन्, ‘केही पदाधिकारीकै दम्भका कारण सदस्यता नवीकरणलगायतका समस्या समाधान गर्ने प्रयत्न निरर्थक बनेको छ ।’ सुर्खेत उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि चैत २६ मा अधिवेशन तोकिएको छ । सदस्यता नवीकरणको विषय सहमतिमा टुङ्गो लगाएमात्रै अधिवेशनको मिति तोकिनुपर्ने असन्तुष्ट व्यवसायीहरूको माग छ । आफूहरूले उठाएका सवालको बेवास्ता गर्दै तोकिएकै मितिमा अधिवेशन गर्नेगरी प्रक्रिया थालिएपछि आन्दोलनको विकल्प नभएको व्यवसायी अधिकारीले बताए । सहमति तथा समन्वयका आधारमा निर्वाचन प्रक्रियामा जानुपर्नेमा संघ व्यवसायीप्रति उत्तरदायी नदेखिएको उनी बताउँछन् । संघ एकपक्षीय रूपमा अघि बढ्न थालेकाले निर्वाचनसम्बन्धी सम्पूणर् प्रक्रिया स्थगित गरी सहमति जुटाउन पहल गरिदिन असन्तुष्ट व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् ।
असन्तुष्ट व्यवसायीहरूले सहमतिका आधारमा समस्या समाधान गर्नुपर्ने माग गर्दै आएका छन् भने पदाधिकारीहरूले विधानअनुसार नै संस्थालाई अघि बढाइएको जिकिर गरिरहेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघमा नेपाली कांग्रेस निकट व्यवसायीहरूका दुई समूह छन् । पार्टी गुटका कारण पदाधिकारीभित्रै फरक मत छ । दुई कित्तामा विभाजित व्यवसायीबीच आगामी अधिवेशनबारे विवाद उत्कर्षमा पुगेको हो । वरिष्ठ उपाध्यक्ष हर्शविक्रम खड्कालगायत कार्यसमितिका केही सदस्य र व्यवसायीहरू आन्दोलित बनेका छन् । असन्तुष्ट पक्षले धेरै व्यवसायीलाई सदस्यता बन्नबाट वञ्चित गरिएको आरोप लगाउँदै आएका छन् । व्यवसायीहरूले आफ्ना माग सम्बोधन नगरी एकाएक नयाँ कार्यसमिति चयनका लागि निर्वाचन घोषणा गरिएको भन्दै पहिलो पटक माघ २८ गते संघको कार्यालयमा तालाबन्दी गरेका थिए । व्यवसायीहरूले कोरोना महामारीका कारण व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै दुई वर्षदेखि बाँकी रहेका फर्मलाई पनि नवीकरण गर्नुपर्ने बताएका छन् । साझाबिसौनी दैनीकमा खबर छापिएको छ ।


दर्शन खबर । १ चैत्र २०७८, मंगलवार