चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने बताएका छन् ।
सोमबार बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने चेतावनी समेत दिएका छन् ।
‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ नदिए चुनाव बहिष्कार गर्ने मात्र नभई चुनावै हुन नदिने उनले चेतावनी दिएका हुन ।
राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नभएको उनले बताएका हुन् ।

 

राष्ट्रिय मान्यता पाएका दलबाहेक अरु दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार मान्न सक्ने कानुनी व्यवस्था छ । त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले अरु नै चुनाव चिह्न पनि दिन सक्नेछ । राजनीतिक दलसम्बन्धी ऐनमा भएको यो व्यवस्था विभेदकारी रहेको भन्दै राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अरु दलले विरोध जनाइरहेका छन् ।
हाल नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी मात्र राष्ट्रिय मान्यता प्राप्त दल छन् ।
राप्रपा अध्यक्ष लिङ्देनले आफ्नै चुनाव चिह्न दिएर द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया