क्षतिपूर्ति माग गर्दै दुर्घटनाका पीडितहरूले रुकुम पश्चिममा गाडी बन्द गरे


रुकुम पश्चिम । बस दुर्घटनाका पीडितहरूले क्षतिपूर्ति माग गर्दै रुकुम पश्चिममा गाडी बन्द गरेका छन् । आफूहरूका माग सम्बोधन गर्न बेवास्ता गरिएको भन्दै बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा घाइतेहरूले गाडी बन्द गराएका हुन् । आज बुधवार बिहानैदेखि सदरमुकामबाट बाहिर जाने र भित्रिने कुनै पनि गाडी चलेका छैनन् ।

गएको मङ्सिर २० गते मुसिकोट नगरपालिका २ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने तथा घाइतेहरूको उपचार खर्च सम्बन्धित निकायले बेहाेर्नुपर्ने माग गरेका छन् । त्याे दुर्घटनामा एक जनाको ज्यान गएकाे थियो भने ३९ जना घाइते भएका थिए ।

प्रहरीले दुर्घटनापछि कुनै पनि प्रक्रिया नथालेको भन्दै पीडितहरू आक्रोशित भएका छन् । फागुन २० गते रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घटनाको विषयमा ध्यानाकर्षण गराए पनि सम्बन्धित निकायबाट माग सम्बोधन नभएकाे भन्दै आन्दाेलन गर्नुपरेकाे उनीहरूले बताएका छन् ।

दुर्घटनाका घाइते सुशील थापाले आफूहरूकाे माग सम्बोधन नभएसम्मका लागि आन्दोलन जारी रहने बताउनुभयो ।

यस्तै प्रहरीले सिस्ने हिमाल यातायात प्राली र चालकलाई सम्पर्कमा नल्याएको, कानुनी कारबाहीकाे प्रक्रिया अगाडि नबढाएको पीडितहरूको आरोप छ ।


तपाईको प्रतिक्रिया