सुर्खेतमा नयाँ विमानस्थल स्व‍. राजा वीरेन्द्रकै जग्गामा बनाउने प्रस्ताव

सुर्खेत । सुर्खेत विमानस्थल विस्तारमा समस्या भएपछि कर्णाली प्रदेश सरकारले वैकल्पिक विमानस्थल बनाउन जग्गाको खोजी थालेको छ । सुर्खेत विमानस्थलको उत्तर–दक्षिण मोहडामा विस्तार गर्न समस्या भएको छ । हाल सञ्चालनमा आएको हवाइ मैदानको रनवे १२ सय मिटर मात्रै छ । उक्त विमानस्थलमा ३ सय ५५ मिटर रनवे थप्न मुआब्जा र जग्गा सम्याउन ८ अर्ब ४१ करोड रुपैयाँको प्रस्ताव गरी केही बजेटसमेत संघीय सरकारले पठाएको थियो ।

मापदण्डअनुसार नै विस्तार र सञ्चालनमा ल्याउनै पनि ८ वर्ष लाग्ने भएकोले विस्तार गर्न प्रदेश सरकार हच्केको हो । गत वर्षको असोज १६ मा सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको थियो । सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणाअन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण गराउन सम्झौता भएको हो ।

सम्झौतामा विमानस्थलको धावनमार्गको लम्बाइ १५ सय मिटरसम्म विस्तार तथा स्तरोन्नति गरी प्रदेशस्तरीय हब विमानस्थलको विकास गर्न दुवै पक्ष मन्जुर रहेको उल्लेख छ । जसअनुसार जग्गाको मुआब्जा वितरण गर्दा हुने खर्चको ५०र५० प्रतिशत रकम प्रदेश सरकार र प्राधिकरणले व्यहोर्ने सम्झौता गरिएको थियो ।

तर त्यसरी विमानस्थल विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै स्थानीयहरू विरोधमा उत्रिएपछि प्रदेश सरकार हच्किएको हो । स्थानीयले अमरज्योति नमुना माध्यमिक विद्यालयलगायत संरचना विस्थापित हुने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइसकेका छन् । अहिलेसम्म विमानस्थल ४ पटक विस्तार भइसकेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले विकल्प खोज्न सरकारसँग आग्रह गरिएको जानकारी दिए ।

‘सुरुमा २०२१ सालमा बिना मुआब्जा स्थानीयका सयौं बिघा जमिन विमानस्थल बनाउने नाममा जबर्जस्ती कब्जा गरिएको थियो, २०३४ सालमा पनि पुनः विस्तार गरी धेरै स्थानीयलाई विस्थापित गरियो,’ उनले भने, ‘फेरि २०६० सालमा सेनाका लागि भनेर पुनः थप जग्गा अधिग्रहण गरियो, पटकपटक अधिग्रहण गर्दा हामी पीडित बनेका छौं ।’ २०६६ सालमा पुनः जग्गा अधिग्रहण गरी नेवारे क्षेत्रका स्थानीयलाई बिचल्लीमा पारेको उनको भनाइ छ ।

प्रभावित क्षेत्रका स्थानीयले नागरिक सरोकार संघर्ष समिति नै गठन गरी विमानस्थल विस्तार नगर्न सरकारसँग आग्रह गरेका छन् । ‘अहिलेसम्म चार पटक विमानस्थल विस्तार भइसक्यो, यति हुँदा पनि ठूला जहाज उडान र अवतरण गर्न सक्ने अवस्था छैन,’ संघर्ष समितिका अध्यक्षसमेत रहेका आचार्यले भने, ‘अब विस्तार गर्दा कम्तीमा ५ सय परिवारको बिचल्ली हुन्छ ।’ उनले वैकल्पिक विमानस्थल निर्माण गर्न प्रदेश सरकारकालाई सुझाइएको बताए ।

सुर्खेत विमानस्थल विस्तार गर्दा ३० बिघा जग्गा अधिग्रहण हुने र अमर ज्योति माविसहित अमरदीप क्याम्पस, हस्तवीर आधारभूत विद्यालय, तीन वटा निजी विद्यालय, स्वास्थ्यचौकी, सहकारी र मानव सेवा आश्रमजस्ता सार्वजनिक संरचनासहित ५ सय घरपरिवार विस्थापित हुने अनुमान छ । अहिले ४२ सिटे जहाजभन्दा ठूला जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन सकेका छैनन् । चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारले ५०र५० करोड गरी एक अर्ब रुपैयाँ विनियोजन गरेका छन् ।

प्रदेश सरकारले स्थानीयको माग र आर्थिक व्ययभारलाई समेत ध्यानमा राखी अहिलेको विमानस्थललाई सेनाको विपद् व्यवस्थापन तथा हवाई उद्धारमा प्रयोग गर्ने गरी आन्तरिक तयारी थालेको छ । मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार अर्को स्थानमा अन्तर्राष्ट्रियस्तर र मापदण्डकै विमानस्थल निर्माण गर्ने गरी जग्गाको खोजी भइरहेको छ । अहिलेसम्म भेरीगंगा नगरपालिकाको छिन्चु मदानेचौर र भेरी नदी पुल नजिकैको साविक लाटीकोइलीस्थित नेपाल ट्रस्टका नाममा रहेको ३४ बिघा जग्गा सम्भावित स्थलको रूपमा चर्चामा रहेको मुख्यमन्त्री कार्यालयका सचिव भरतकुमार शर्माले बताए । मदानेचौरमा बिहानीपख भेरी नदीको हुस्सुले छोप्ने भएकाले प्रााविधिक दृष्टिकोणले उपयुक्त नभएपछि नेपाल ट्रस्टकै जग्गामा सम्भावनाको खोजी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । नेपाली रैबार


तपाईको प्रतिक्रिया