कटकुवा नगर अस्पतालमै अक्सिजन उत्पादन गरीने


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा नगर अस्पताल परिसरमा अक्सिजन उत्पादनका लागि प्लान्ट जडान गरिएको छ ।
उक्त प्लान्टबाट परीक्षण उत्पादनसमेत गरी नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । झन्डै डेढ करोडको लगानीमा प्लान्ट जडान गरिएको हो । दोस्रो चरणको कोरोना महामारीमा अक्सिजन अभाव हुने आकलन गरेर नगरपालिकाले चौधरी ग्रुुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो ।
हाल प्लान्ट बनिसकेको र उत्पादनका लागि तयारी अवस्थामा रहेको नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूूपेन्द्रदेव गिरीले बताए । उनका अनुसार प्लान्टबाट २४ घण्टामा ४० लिटरका एक सय ५० वटा सिलिन्डर भर्न सकिने छ । उत्पादन क्षमता धेरै भएकाले यसले प्रदेशभरकै मेडिकल अक्सिजन अभाव टार्न मद्दत पुुग्ने अपेक्षा गरिएको छ ।
वीरेन्द्रनगरमै प्लान्ट सञ्चालन गर्न लागिएकाले यसले कोरोना संक्रमणका गम्भीर बिरामीदेखि श्वास–प्रश्वासमा समस्या भएकालाई उपचारमा निकै राहत हुने जनाइएको छ । कर्णालीमा गत वर्ष मेडिकल अक्सिजनको हाहाकार भएको थियो । अस्पतालहरूमा अक्सिजन नहुँदा कतिपयले उपचारसमेत नपाएर ज्यान गुमाएका थिए ।


तपाईको प्रतिक्रिया