
दैलेख । गत मंसिर १५ गतेदेखि बन्द रहेको सुर्खेत–दैलेख सडकखण्डमा आज (मंगलबार) देखि गाडी सञ्चालन भएका छन् । सडकअन्तर्गत पर्ने दैलेखको गाईबान्नास्थित सडक फराकिलो बनाउनलाई चट्टान काट्नुपर्ने भन्दै बन्द गरिएको सडकमा नै वैकल्पिक सडकको प्रयोग गरी गाडी सञ्चालनको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
सडक स्तरोन्नतीको काम भइरहेकाले मंसिर दोस्रो सातादेखि सुर्खेत–दैलेख सडकखण्डमा ठूला गाडी सञ्चालनमा रोक लगाइएको थियो । यो रुटमा अब भने यात्रुबाहक सवारीसाधन गुड्ने व्यवस्था मिलाइएको हो । आजदेखि यात्रुबाहक साना गाडी चलेका हुन् । हाइस, फोर्सलगायतका गाडीलाई दुईतर्फी चल्न दिइने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।बन्दै गरेको सडक पुस मसान्तसम्म अवरुद्ध हुने जनाइएको छ । यसअघि मंसिर १५ देखि पुस १५ गतेसम्म सडक स्तरोन्नती गरिसक्ने भनिए पनि हालसम्म जम्मा आधा काम मात्र सम्पन्न भएको छ । जसले गर्दा सडक मर्मतको काम केही दिन अझै लम्बिने देखिएको हो । त्यतिबेलासम्मका लागि साना सवारी बाइपास रुटबाट र ठूला सवारीका साधन भने कर्णाली राजमार्गको सियाकोट, तल्लो डुंगेश्वरदेखि बाागेसिमलको रूट हुँदै गुड्ने छन् ।
गुराँस गाउँपालिकाको गाईबान्नास्थित घाम ताप्ने भिरमा चट्टान काटेर सडक फराकिलो बनाउन लागिएको छ । भीरको चट्टान काट्ने काम ५० प्रतिशत सकिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । उक्त भीरमा साँघुरो बाटो भएकाले फराकिलो गर्न चट्टान काट्न लागिएको हो । अहिले तीन मिटर मात्रै सडक चौडा रहेको यो भीरमा १५ मिटर उचाइको भीर कटान गरेर सात मिटर चौडा सडक बनाइने छ ।


दर्शन खबर । १३ पुष २०७८, मंगलवार