बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद


सुर्खेत । गत जेठ २१ गते बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकासन गर्ने पत्रकारलाई पाँच महिना कैद सजाय तोकिएको छ ।
सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल ईजलासले ती पत्रकारलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरीवाना तोकेको हो । ‘राप्ती पहिचान डट कम’ अनलाईनका सञ्चालक दाङको तुलसीपुर उपमहानरपालिका-३ का एग्गेबहादुर बुढा मगरलाई उक्त सजाय तोकिएको हो ।
उनले आफ्नो अनलाईनमा युवतीको पहिचान खुल्नेगरी तस्विर र नामसहित समाचार प्रकाशन गरेका थिए। यस्तै पीडकको तर्फबाट बहस गरेका वकिलहरुको विरूद्ध फेसबुकमा स्टाटस लेखेका थिए ।
पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्नेगरी अनलाईनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए ।
संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन/प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको छ ।
‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेले परिणामको गाम्भीर्यतालाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारबाहीको विषय हुन आयो,’ फैसलामा भनिएको छ ।
सजाय तोकिएका पत्रकार बुढामगरले २४ घण्टाभित्र क्षमायाचना गरेमा भने कैद बस्नुपर्दैन। जुन सामाजिक सञ्जाल प्रयोग गरी कानुन आकर्षित हुने क्रियाकलाप गरिएको हो तिनै सञ्जालमार्फत माफी माग्नुपर्ने हुन्छ ।
उनले आफू सञ्चालक रहेको अनलाईनमार्फत क्षमायाचना पनि गरेका छन्।
राउटे समुदाय गुर्भाकोट नगरपालिका-९ स्थित आँपसोतीमा बसेका बेला युवतिमाथि बलात्कार भएको हो। जेठ २१ गते राउटे समुदायका दुई युवती सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरुले यौनजन्य क्रियाकलाप गरेका थिए ।
उक्त कार्य गरेको भिडियो समेत बाहिर आएको थियो। युवतिमाथि जबर्जस्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ ।


तपाईको प्रतिक्रिया