धुलियाबिट-भेडाबारी सडक खण्ड दशकौंदेखि उही दुर्दशा


सुर्खेत । विकासको प्राथमिक पूर्वाधार हो, सडक । र, विकास ओसार्ने माध्यम पनि । तर, त्यही सडक भरपर्दो नभइदिँदा सुविधाभन्दा सास्ती बढी हुने नै भयो । यस्तै समस्या झेल्दै छन्, धुलियाबिट-भेडाबारी सडक खण्ड आसपासका बासिन्दाहरू । त्यो पनि दशकौंदेखि । जिल्लाकै पुरानो मध्येको सडकको आज पनि उही हालत छ, जस्तो ट्रयाक खोल्दा बनेको थियो । धुलियाबिट-भेडाबारी सडकको वि.सं २०३६ सालमै ट्रयाक खोलिएको हो । निर्माण थालेको ४२ वर्ष भइसकेको छ । अवस्था भने ज्युँका त्युँ । आवश्यक स्तरोन्नतिको अभावमा यसको रूप बदलिएको छैन ।
हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यही मार्ग भएर यात्रुहरू ओहोर-दोहोर गर्छन् । चार दशक बिते सास्ती भने हटेको छैन । उक्त सडकको झन्डै २० किलोमिटर खण्ड लेकवेशी नगरपालिकामा पर्छ । प्रवेशद्वारकै सडक नाजुक हँुदा यो नगरका बासिन्दा बढी मर्कामा छन् । वीरेन्द्रनगरसँग सीमा जोडिएको लेकवेशी पुग्न अरू दुई पालिका भएर जानुपर्छ । ‘धुलियाबिटदेखि सिधै आउने बाटो राम्रो छैन । रत्नराजमार्गबाट भेरीगंगा र गुर्भाकोट नगरपालिका हुँदै आउनुपर्ने बाध्यता छ,’ लेकवेशी-४ दशरथपुरका होटल व्यवसायी दिपक बोहोराले भने । रामघाटस्थित भेरी नदीमा अझै पक्की पुल बनेको छैन । कतिपय रामघाटमा सवारी साधन राखेर दशरथपुर जान्छन् । प्रदेश राजधानीको छिमेकी पालिका भए पनि जीणर् सडककै कारण विकटको बसाइँजस्तो भएको स्थानीय बताउँछन् । ‘जताबाट आवत-जावत गरौं हैरानी नै छ,’ बोहोरा भन्छन्, ‘भेरीगंगा भएर आउँदा जीणर् झोलुङ्गे पुल छ । माथि वीरेन्द्रनगर-लेकवेशी सडकमा यात्रा गर्नेजस्तो बाटो छैन ।’
विजोग सडककै कारण पालिकालाई दैनिक प्रशासनिकदेखि सेवा प्रवाहमा समस्या छ । सडक गतिलो नभएकाले अन्य विकास निर्माणमा बाधा पुगेको छ । लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेल भन्छिन्, ‘जीणर् सडकको सकस भनिसाध्य छैन ।’ यो खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत पर्छ । सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । तर, स्तरोन्नति कहिले हुन्छ अझै अन्योल छ । छन्तेलले संघीय सरकारको आयोजना भएकाले स्थानीय तहबाट मर्मतसुधार गर्न पनि नसकिएको बताइन् । ‘पालिका प्रवेश गर्ने सडकको अवस्थाले हामीलाई नै लज्जित बनाएको छ,’ उनले भनिन् ।
लेकवेशीका १० वटै वडामा पुग्ने अन्य सडकको हालत झन् खराब छ । पालिकाभित्र तीन सय ८३ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । लेकवेशीमा पक्की सडक भने अहिलेसम्म बनेको छैन । उपप्रमुख छन्तेलले नगरको राजनीतिक पहुँच नभएकै कारण प्रदेश र केन्द्र सरकारले आफूहरूलाई उपेक्षा गर्दै आएको आरोप लगाइन् । ‘जनअपेक्षा धेरै छन् । हामीसँग सीमित बजेट छ । माथिल्लो तहका सरकारबाट आवश्यक सपोर्ट पनि भएन,’ छन्तेलले भनिन् । नगरपालिकाले पछिल्ला साढे चार वर्षमा थुप्रै विकास निर्माणका काम गरेको उनको दाबी छ । पालिकाको आन्तरिक आम्दानीको स्रोत न्यून छ । वार्षिक झन्डै डेढ करोड राजस्व संकलन हुने नगरको चालु आर्थिक वर्षको बजेट ६८ करोड छ । संघीय र प्रदेश सरकारको अनुदानका भरमा पालिकाले वार्षिक बजेट तथा काार्यक्रम बनाउँदै आएको हो ।
‘ठोस प्रगति नदेखिएको मात्र हो,’ उपप्रमुुख छन्तेल भन्छिन्, ‘स्थानीय तहबाट विकासका काम नभएका भने होइनन् ।’ ठूलो र विकट भूगोल, सीमित स्रोतसाधन, जनशक्ति अभाव, क्षेत्राधिकार तथा कानुनी अड्चनका कारण सोचेअनुरूप विकास गर्न नसकिएको उनको भनाइ छ । नगरले हालसम्म ३७ वटा कानुन निर्माण गरेको छ । आफै कानुन बनाएर काम गर्नुपर्ने भएकाले अनेकन् चुनौतीहरू झेल्नु परेको जनप्रतिनिधिहरू बताउँछन् ।
कृषि उत्पादन र पशुपालनका क्षेत्रमा लेकवेशी आत्मनिर्भर छ । कृषिजन्य उपजका लागि यहाँको वातावरण अनुकूल मानिन्छ । भौगोलिक दूरीका हिसाबले कणर्ाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि निकै नजिक पनि छ । तर, सडक पूर्वाधारको स्तरोन्नति नहुँदा कृषि उत्पादन बजार पुर्‍याउन मुस्किल छ । ‘व्यावसायिक रूपमा कृषि गरिरहेकाहरू पनि अप्ठ्यारोमा छन्,’ नगरपालिकाका अधिकृत केशरबहादुर डाँगीले भने, ‘सडक गतिलो नभए सबै क्षेत्र प्रभावित बन्ने रहेछ ।’ उनले जीणर् सडकले पालिकाका बासिन्दाको जीविकोपार्जनसँगै जनस्वास्थ्य, पर्यटन र शिक्षामा समेत असर पुुगेको बताए ।
साझा बिसौनि दैनिकमा खबर छापीएको छ ।