पत्रकार महासंघद्वारा ‘लेकवेशी घोषणापत्र’ जारी


सुर्खेत । नेपाल पत्रकार महासंघ, सुर्खेतले आमसञ्चार प्रतिष्ठान स्थापना गर्न माग गरेको छ । सुर्खेतको लेकबेशी नगरपालिकास्थित गमखोलामा गत शनिवार बसेको संस्थाको तेस्रो पुणर् वैठकले ‘लेकबेशी घोषणापत्र’ जारी गदै प्रतिष्ठान स्थापनाका लागि माग गरेको हो ।
कर्णाली प्रदेश सभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान सम्वन्धि विधेययकलाई पारित गर्न माग गर्दै आमसञ्चार प्रतिष्ठान स्थापना गर्नुपर्ने महासंघको माग छ ।
घोषणा पत्रमा बताइएको छ, ‘प्रदेश सभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसंचार प्रतिष्ठान स्थापना सम्वन्धि विधेयकलाई संविधानको परिकल्पना अनुसार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनेगरी आवश्यक संसोधनसहित विधेयक पारित गर्न आह्वान गर्दै तत्काल आमसंचार प्रतिष्ठान स्थापना गर्न बैठकले प्रदेश सरकारसँग माग गरेको छ ।’


यसैगरी कोरोना महामारीका कारण समस्यामा परेका जिल्लाका सञ्चार माध्यमहरुको दिगो सञ्चालनका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बृद्धि गर्न र स्थानीय तथा प्रदेश सरकारले प्रकाशन गर्दै आएका विज्ञापन स्थानीय सञ्चार माध्यममा अनिवार्य प्रकाशन तथा प्रसारण गर्नेगरी आवश्यक कानून र नीति निर्माण गर्न बैठकले आह्वान गरेको छ ।
प्रदेश सरकारले सञ्चालन गरिरहेको पत्रकारको स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउनुपर्ने, श्रमजिवी पत्रकारका लागि संचार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग तथा पत्रकारलाई लेखनबृत्ति उपलब्ध गराउन र छात्रवृत्ति स्थापना गर्न स्थानीय तहहरुलाई बैठकले आग्रह गरेको छ ।
यसका साथै पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका र आवद्ध भएका यस शाखाका सदस्यहरुलाई सदस्यता शुद्धिकरण (खारेज) गर्नुअघि नै स्वेच्छिक रुपमा महासंघको सदस्यता त्याग्न बैठकले आह्वान गरेको नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव ललित बुढाले जानकारी दिए । प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको पर्यटकीय क्षेत्र लेकबेशी नगरपालिकाको समग्र भौतिक तथा पर्यटकीय विकास र प्रर्वद्वनका लागि विशेष योजना ल्याउन संघीय र प्रदेश सरकारलाई आग्रह गर्दै हालसम्म स्तरोन्नति हुन नसकेको मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट-भेडाबारी सडकलाई तत्काल स्तरोन्नति गर्न समेत सबैसँग आग्रह गरिएको सचिव बुढाले जानकारी दिए ।