विश्वासको मत लिईसकेपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने मुख्यमन्त्री शाहीको तयारी

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिईसकेपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ ।

मंसिर १४ गते विश्वासको मत लिन लागेका मुख्यमन्त्री शाहीले त्यसपछि मात्र सत्ता साझेदार दलबाट मन्त्री नियुक्त गर्ने तयारी गरेको नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचेतक हिमबहादुर शाहीले बताउनुभयो ।

अहिले कर्णाली प्रदेशको मन्त्रिपरिषदमा मुख्यमन्त्री र एक जना मन्त्री मात्र छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलका नेता शाहीले कात्तिक ३० गते एक जना मन्त्री नियुक्त गरेका थिए ।

एकीकृत समाजवादी कर्णाली प्रदेश सभा दलका नेता चन्द्रबहादुर शाहीलाई उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको छ । अब बाँकी ६ जना मन्त्री नियुक्त गर्न बाँकी छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिनेक्रममा बाँकी रहेका मन्त्रालयमा कुन दलबाट कति जना मन्त्री बन्ने टुगो पनि लागेको छैन । मुख्यमन्त्रीले विश्वासको मत लिईसकेपछि नै यो विषयमा टुंगो लगाईने शाहीले बताउनुभयो ।

कर्णाली प्रदेशमा सत्ता साझेदार दलमध्ये नेकपा माओवादी केन्द्रले भने चार मन्त्रालयको दाबी गरिसकेको छ । शुक्रबार बसेको नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलको वैठकबाट नै चार वटा मन्त्रालय लिने निर्णय गरेको हो ।