आगामी पुसमा कर्णाली प्रदेश लोकसेवाले विज्ञापन खुलाउँदै

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले आगामी पुसको अन्तिम मंगलबार रिक्त दरबन्दी पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरी कर्मचारी माग गर्ने तयारी गरेको हो ।
आयोगले सहायक पाँचौं तहका प्राविधिक र अप्राविधिक (नायव सुब्बा) पदका कर्मचारी पूर्तिका लागि पुसको अन्तिम मंगलबार विज्ञापन गर्ने कार्यतालिका बनाएको छ ।
नासु तहमा अप्राविधिकतर्फको प्रथम पत्रको परीक्षा फागुनमा सञ्चालन हुनेछ । चैतमा लिखित परीक्षाको नतिजा प्रकाशित गरी वैशाखमा दोस्रो पत्रको परीक्षा लिने कार्यतालिका बनाएको आयोगका सूचना अधिकारी प्रेमप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार सहायक चौथो (खरिदार) तहका अप्राविधिक र प्राविधिकका लागि माघ महिनामा कर्मचारी माग गर्ने आयोगको तयारी छ । अप्राविधिकतर्फको प्रथम पत्रको परीक्षा वैशाखमा परीक्षा लिने र जेठमा परीक्षाफल प्रकाशित गर्ने उनले जानकारी दिए ।
असारमा दोस्रो तहको परीक्षा सञ्चालन गरेर असोज र कात्तिकमा लिखित परीक्षाको अन्तिम नतिजा प्रकाशित गर्ने आयोगको कार्यतालिका छ । सबै परीक्षाहरू पार गरेका अप्राविधिकतर्फका उम्मेद्वारलाई मंसिर वा पुसमा सिफारिस गरिनेछ ।
चौथो तहकै प्राविधिकतर्फका परीक्षा भने जेठमा सञ्चालन हुनेछ । असोज वा कात्तिकमा लिखित परीक्षाको नतिजा प्रकाशित गरेर मंसिर र पुस महिनासम्म सिफारिस गरिसक्ने आयोगको कार्यतालिका छ ।
कुनै असामान्य परिस्थिति आइपरेमा मात्रै कार्यतालिका पुनरावलोकन गरिने सूचना अधिकारी आचार्यले बताए । उनका अनुसार कर्णालीबाहेक अन्य प्रदेशमा लोकसेवा आयोग गठन गरी विज्ञापन आह्वान गरी कर्मचारी पदपूर्ति भए पनि कर्णालीमा ऐन संशोधन नहुँदा समस्या भएको थियो ।

तपाईको प्रतिक्रिया