भेरी–बबई डाइभर्सनमा तेस्रो चरणको काम सुरु गर्ने तयारी


सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरणको काम गर्न आयोजना कार्यालयले टेन्डर प्रक्रिया पूरा गरेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रो मेकानिकल (ईएम) संरचनाहरूको खरिद व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइएको हो ।
तेस्रो चरणअन्तर्गत हाइड्रोमेकानिकलतर्फको कामका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताए । तेस्रो चरणको इलेक्ट्रोमेकानिकलतर्फको कामका लागि पनि १५÷२० दिनभित्र टेन्डर स्वीकृत हुने गरी प्रक्रिया सुरु गरिएको सुवेदीको भनाइ छ ।
यसअघि तेस्रो चरणअन्तर्गत हाइड्रोमेकानिकल संरचनाहरूको खरिदका लागि आयोजनाले टेन्डर आह्वान गरेको भए पनि सर्वोच्च अदालतले निषेधाज्ञा पूर्ण रूपमा खुलेपछि मात्रै प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि मिति सरिरहेको थियो । समय सामान्य भएपछि तेस्रो प्याकेजअन्तर्गतको कामका लागि प्रक्रिया अगाडि बढाइएको सुवेदीले बताए । हाल दोस्रो चरणअन्तर्गत सिभिल संरचनातर्फका काम भइरहेका छन् ।