कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै विद्युतको पहुँच बाहिर 

सुर्खेत। कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कअनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशत अर्थात् पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युतको प्रत्यक्ष पहुँचमा छन् । बाँकी १३ लाख अर्थात् ६७ प्रतिशत नागरिक टुकी र दियालोकै भरमा छन् । करिब १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता र सम्भावना रहेको कर्णालीमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीमुनि अँध्यारोमा बस्न बाध्य भएका हुन ।

केही वर्ष पहिलेसम्म कर्णालीका ७२ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर थिए । पछिल्लो समय प्रदेश तथा स्थानीय सरकारले साना तथा लघु जलविद्युत् र सौर्य ऊर्जा निर्माण गरेपछि पाँच प्रतिशतले घटेको भौतिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष २०७८÷७९ मा पनि ग्रामीण विद्युतीकरणका लागि ४२ करोड ३१ लाख बजेट विनियोजना गरेको छ । प्रदेश सरकार गठन भएयता तीन वर्षमा कर्णालीलाई लघु जलविद्युत् तथा वैकल्पिक ऊर्जामार्फत अँध्यारोमुक्त बनाउने सरकारको लक्ष्य पनि सपनाजस्तै भएको छ ।

महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतमा ४७, सल्यानमा ५० रुकुम–पश्चिममा ३९, दैलेखमा २६ जाजरकोटमा १४ प्रतिशत जनसङ्ख्याले मात्र विद्युत् सेवा पाएका छन् । यसैगरी डोल्पामा २०, जुम्लामा पाँच, कालीकोटमा २२, मुगुमा १९ र हुम्लामा २८ प्रतिशत नागरिक विद्युतको पहँुचमा छन् ।

 

तपाईको प्रतिक्रिया