दीर्घ रोग भएकालाई कोरोनाको खोप कात्तिक २८ गतेदेखि लगाइने

सुर्खेत । सरकारले दीर्घ रोग भएका व्यक्तिहरूलाई यही कात्तिक २८ गतेदेखि कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ ।

अमेरिकाले अनुदानमा दिएको एक लाख मात्रा फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म दिइने सरकारले जनाएको छ । दोस्रो मात्रा मङ्सिर २७ देखि पुस ४ गतेसम्म दिइने छ।

सरकारले दिर्घ रोगी भएका व्यक्तिहरूलाई दिइने फाइजर खोप तोकिएका केन्द्रमा गएर लगाउन आग्रह गरेको छ । उक्त खोप कर्णाली प्रदेशमा भने प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपलब्ध हुनेछ ।

यो खोप मुटुको शल्यक्रिया गराएका र औषधि प्रयोग गरिरहेका, मिर्गाैला फेरेका, डायलासिस गराइरहेका वा औषधि सेवन गरिरहेका र क्यान्सरको उपचार गराइरहेका व्यक्तिहरूले पाउने छन् ।

यस्तै फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भएर डाक्टरको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएकाहरूले पाउने सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया