बेलारुसद्वारा इराकी, सिरियाली र यमनीलाई टर्कीबाट आउने उडानमा प्रतिबन्ध

काठमाण्डाै । बेलारुसको सरकारी एयरलाइन्सले इराकी, सिरियाली र यमनीहरुलाई टर्कीबाट आउने उडानमा प्रतिबन्ध लगाएको छ ।

अंकाराको अनुरोधमा बेलारुसले प्रतिबन्ध लगाएको हो । बेलारुसको पश्चिमी सीमामा पोल्यान्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासी युरोपेली सङ्घ (ईयू)को क्षेत्रभित्र प्रवेश गर्ने आशामा बसिरहेका छन् । बेलारुसमा फसेका आप्रवासीबारे विश्व स्वास्थ्य सङ्गठनले चासो व्यक्त गरेको छ ।

चिसो मौसममा उनीहरुको स्वास्थ्य अवस्थालाई लिएर विश्व स्वास्थ्य सङ्गठनले आप्रवासीको अधिकारको रक्षा गर्न आग्रह गरेको छ । उनीहरुमध्ये धेरैलाई स्वास्थ्य सहायता चाहिएको सङ्गठनका युरोपका निर्देशक हान्स क्लुगेले बताउनुभएको छ ।