उद्योग मन्त्री हमालको राजीनामा स्वीकृत


काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए । मन्त्री हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन् ।
हमाल मन्त्री बनेपछि आलोचना भइरहेको थियो । हमाल गत असोज २२ मा मन्त्री बनेका थिए ।
‘प्रधानमन्त्रीज्यू, म लामो समयदेखि कांग्रेसको विभिन्न पदमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘हाल विभिन्न सञ्चार माध्यममा समाचार र कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्ययन भएको बोध भएको छ। तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु।’
हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरेका छन् । हमाल लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशिल थिए ।


तपाईको प्रतिक्रिया