कंग्रेस नेताले ६२ क्विन्टल चामल बुझेर आ-आफ्ना कार्यकर्तालाई बाँडे

हुम्ला । निमुखा नागरिकले सहजै नपाए पनि पहुँच भएका दलका नेताले भने चामल पाएका छन् । गत १७ असोजमा भएको सत्तारुढ कांग्रेसको जिल्ला अधिवेशनमा सहभागी कार्यकर्तालाई ६२ क्विन्टल चामल बाँडिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा समूहले ४२ र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले २० क्विन्टल चामल बाँडेको हो । संस्थापन पक्षका नेता तथा पूर्वमन्त्री जीवनबहादुर शाहीले ६० क्विन्टल चामल उपलब्ध गराउन सिडिओ गणेशप्रसाद आचार्यलाई लिखित सिफारिस गरेका थिए । सिडिओले खाद्यको सिमकोट शाखालाई तोक लगाए । चामल कम भएको भन्दै खाद्यले ४२ क्विन्टल मात्र उपलब्ध गरायो ।
त्यसपछि पौडेल पक्षका तर्फबाट पूर्वसांसद रीता शाहीले सिडिओ आचार्यसँग चामल उपलब्ध गराउन माग गरेकी थिइन्, तर कांग्रेसले लगिसकेको भन्दै सिडिओले तोक लगाउन मानेनन् । त्यसपछि जिल्ला खाद्य समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुखले २० क्विन्टल चामल उपलब्ध गराउन निर्देशन दिएका थिए । त्यसपछि पौडेलले खेमाले पनि आफूनिकट कार्यकर्तालाई २० क्विन्टल चामल बाँडेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णप्रसाद अधिकारीले सिडिओले तोक लगाएपछि कांग्रेसलाई चामल उपलब्ध गराएको बताए । देउवा पक्षलाई ६० क्विन्टल उपलब्ध गराउन तोक लागेको भए पनि ४२ क्विन्टल मात्रै उपलब्ध गराएको उनको दाबी छ ।कांग्रेसको जिल्ला अधिवेशनमा भने भाँडभैलो भएको छ । पौडेल पक्षले अधिवेशन बहिष्कार गरेपछि संस्थापन पक्षले एकतर्फी रूपमा मोहनविक्रम सिंहलाई सभापति घोषणा गर्दै जिल्ला समिति बनाएको छ । पौडेल पक्षले पनि रामबहादुर भण्डारीको सभापतित्वमा समानान्तर जिल्ला कार्यसमिति गठन गरेको छ ।
नयाँपत्रीकामा खवर दैनीकमा छापिएको छ ।


तपाईको प्रतिक्रिया