
सुर्खेत । बालिकाको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल तनावग्रस्त बनेको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका हुन् । बालिका मृत्यु भएको विषयमा उचित छानविनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेको हो ।
दैलेखको नारायण नगरपालिका -४ की पूजा कटुवालकी साढे २ वर्षकी छोरी (बालिका) कुसुम कटुवालको गएराती प्रदेश अस्पतालमा मृत्यु भएको थियो । खासै समस्या नभएकी उनको एक्कासि कसरी मृत्यु भयो पीडित परिवारले प्रश्न गरेका छन् । उनीहरुले घटनाको उचित छानविन हुनुपर्ने माग गरेका छन् ।
पीडित पक्षले ओभरडोज औषधिका कारण बालिकाको मृत्यु भएको दावी गरेको छ । बालिकाकी आमा पूजाका अनुसार कुसुमको चार दिन अगाडि नाकमा मकैको दाना अड्केको थियो ।
शुक्रबार बिहानै प्रदेश अस्पतालका एक डाक्टरले बालिकाको स्वास्थ्यावस्था चेकजाँच गरेका थिए । ती डाक्टरले श्वास नलीमा समस्या आएको र प्रदेश अस्पतालमा आइसीयु खाली नभएको भन्दै शिक्षण अस्पताल लैजान सुझाएका थिए ।
यता प्रदेश अस्पतालका प्रवक्ता डाक्टर विकास केसीले श्वासप्रश्वासका कारण बालिकाको मृत्यु भएको बताए ।


दर्शन खबर । २३ आश्विन २०७८, शनिबार