कविता – आमा! छैन मैले बिर्सेको ।।

सुरेन्द्रराज बुढा क्षेत्री

आमा म प्रत्यक्ष साक्षी छु
तपाई यो धर्ती बाट सदाको लागि बिदा हुँदै गर्दा,
तपाईमा इच्छा थियो अझै
हाम्रै सामु लामो समय जीउने !
एकहोरो बोलीरहनु भयो
तर मैले आवाज बुझिन,
मात्र भाव बुझे।
एकहोरो हेरि मात्र रहनु भयो,
मैले आखा मा आँखा जुझाउन सकिन
मात्र म मुकदर्शक बने, गर्न केही सकिन !
मन त थियो दिन एक मुट्ठि सास
बचाउन सक्छुकी भनी
तर त्यो पनि थियन सम्भव,
तपाईमा पीडा थियो,म मा पनि व्यग्र इच्छा थियो
तपाईलाई त्यो सैया बाट मुक्ती दिलाउने
अनि घरको आगनमा बसि
बिजय उत्सव मनाउने,तपाईको काखमा रमाउने,
अनि मन भित्रका बेदनाहरु बिसाउने!
फगत यी सवै सपनाहरु चकनाचुर भए!!

दिनभरी मैले एकहोरो नियालिरहे त्यो स्क्रिनमा
मुटुको चाल अनि अक्सिजन को मापन मा
केही सुधार हुन्छकी भनी
मनमा झिनो आशा बचायको थिए
फेरि पनि आमा भन्दै काखमा
आफ्नो शिर लुकाउन पाउछु कि भन्दै!
आमा भन्दै जोड्सङ्ग धेरै पटक बोलाए,शिर सुम्सुम्याय,
जल चढाय, चुम्बन गरे हातका ती औलाहरुमा,
स्पर्श गरे ती गाला अनि ओठहरुमा,
प्रतीक्षा मा थिए यी सवै को प्रतिक्रियामा
तर यी सवै प्रयासहरु निर्थक भए
बिस्तारै तपाईको त्यो अस्पस्ट आवाज पनि
केही बेरमै बन्द भयो,
अनि सदाका लागि
यश धर्ती बाट बिदा हुनु भयो, ब्रह्मलिन हुनुभयो!!

सन्ध्याकालिन समय थियो,
सन्नाटा छायो,मैले अन्धकार बाहेक केही देखिन,
बिक्षिप्त भए, स्तब्ध भए
आँखा नझिम्क्याई लामो समय सम्मा
तपाईको त्यो पार्थिव शरीर नियालिरहे, मैले आफुलाई सम्हाल्न खोजे,महसुस गरे आज मैले हारे,
जीवनमा पहिलो पटक यति धेरै पीडा बोध भयो
किनकी मैले जन्मदिने आमा लाई
सदाका लागि गुमायको थिए !!!!

मृत्यु सैयामा तपाईं
परमधाम को बाटो अबलम्बन गर्दै गर्दा
सोही बखत, बुवा तपाईं बाट बिदा हुँदै गर्दा,
तपाईको चीत्कार र बुवाको पत्नीबियोगले
म झनै स्तब्ध भए, किन्ककर्त्ब्यबिमुढ भए,
मुटुको धड्कन रोकियो, केहि पनी सोच्न सकिन,
मेरो मानसपटलमा गुन्जिरहे तपाईका ती आवाजहरु, प्रतिबिम्बित भैरह्यो तपाईको त्यो अनुहार अनि ती चालहरु
हो म निहत्था थिए, लाचार थिए
अर्को कुनै बिकल्प थियन म सङ्ग
तपाई महाप्रस्थान गर्दै गर्दा !!!
तपाई यो धर्ती बाट सदाको लागि बिदा हुँदै गर्दा!!!

लेखकः सुरेन्द्रराज बुढा क्षेत्री
बिरेन्द्रनगर–६ , सुर्खेत – हाल काठमाडौ