जुम्ला कांग्रेस जिल्ला अधिवेशन दशैँपछि हुने

जुम्ला । नेपाली कांग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । आज आइतवार असोज १८ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको हो ।

दशैँ पनि नजिकिएको, अधिवेशनको आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत हसिना प्रधानको समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको पार्टी सभापति दीपबहादुर शाहीले जानकारी दिनुभयो । आउँदो कात्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकिएको तर यसमा पार्टी केन्द्रले एक÷दुई दिन अघिपछि पनि गर्न सक्ने उहाँले बताउनुभयो ।

वडा पालिका, प्रदेश क र ख सबै अधिवेशन सकिएको र अब जिल्ला अधिवेशन मात्रै बाँकी रहेको सभापति शाहीले जानकारी दिनुभयो ।

जुम्लाका आठ पालिकामध्ये सिंजा र गुठीचौर गाउँपालिकामा देउवा पक्षले पालिका सभापति पाएको छ । चन्दननाथ नगरपालिकाका साथै हिमा, कनकासुन्दरी, पातारासी, तातोपानी र तिला गाउँपालिकामा पौडेल समूहले पालिका सभापति प्राप्त गरेको हो ।

धेरैजसो पालिका र वडामा सहमतिमा सभापति चयन गरेको कांग्रेसले क्षेत्रीय अधिवेशनमा सहमति गर्न सकेन ।

२३ सदस्यीय प्रदेश क्षेत्रीय कार्यसमितिमा जुम्ला प्रदेश ‘क’ र ‘ख’ दुवैमा पौडेल समूहले संस्थापनलाई किनारा लगाएको छ । यसैगरी १६ प्रदेश क्षेत्रीय प्रतिनिधिमा पनि सबै पौडेल पक्षका उम्मेदवारले जितेका छन् । कांग्रेस प्रदेश ‘क’ र ‘ख’ मा पौडेल पक्षको जितसँगै संस्थापनलाई जुम्लामा झट्का लागेको छ ।

वर्तमान सभापति दीपबहादुर शाही पौडेल समूहका सभापति आकाङ्क्षी हुनुहुन्छ भने देउवा समूहबाट सभापतिका लागि पार्टी सचिव कर्णबहादुर शाहीको नाम चर्चामा छ ।

तपाईको प्रतिक्रिया