सुर्खेतमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

सुर्खेत । सुर्खेत प्रशासनले नजिकिँदैं गरेको दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिएको हो । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेपनि उनीहरुले वेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालयले एक्लै जिल्लाभरी चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र दिई रहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त रुपमा बजार अनुगमन गर्ने गरिएको जनाए । उनका अनुसार यो वर्ष पनि त्यसैको निरन्तरता हो । ‘जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य, प्रविधि तथा गुुण नियन्त्रण डिभिजन, नेपाल नापतौल तथा गुुणस्तर कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेत उद्योग वाणिज्य संघ तथा पत्रकारसहितको संयुक्त अनुुगमन टोलीले नियमित रुपमा बजार अनुुगमन गरिरहेको छ,’ उनले भने, ‘चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य, सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमलाई तीव्र पारिएको हो ।’ उनका अनुसार, डेढ सातादेखि दैनिक संयुक्त बजार अनुगमन टोलीले जिल्लाका विभिन्न बजारहरुमा अनुगमन गरिरहेको छ ।

‘यो बेला बढी खपत हुने खाद्यवस्तु, तरकारी, लत्ताकपडा, यातायातलगायतमा छुटाछुट्टै अनुगमन गर्ने गरि योजना बनाईएको छ,’ ‘जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी श्रीसम्शेर रानामगरले भने, ‘जिल्ला प्रशासनमा कुनैपनि उपभोक्तासँग जोडिएको उजुरी र गुनासो आउने बित्तिकै आकस्मिक अनुगमनमा जाने गरी तयारी अवस्थामा रहन्छ ।’ उनले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिनुका साथै शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाईएको जनाए ।

उनका अनुसार उपभोक्ता अधिकार र बजार अनुगमनमा सबै उत्तिकै जिम्मेवार रहेकाले स्थानीय तहले समेत चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिनु पर्छ । मुख्यतः लत्ताकपडा, खाद्यान्न, मासुको मूल्य र गुणस्तरमा केन्द्रीत भएर बजार अनुगमन केन्द्रित बनाईनु पर्ने उनको भनाई छ ।

यता नेपाल आयल निगमले चाडपर्वको समयमा पेट्रोलियम पद्धार्थको माग अनुरुप आपूर्ति गर्न सक्षम रहेको जनाएको छ । गुणस्तर र परिणामको सन्दर्भमा कुनै गुनासो भए निगमलाई जानकारी गराउन उपभोक्तालाई आग्रह गरिएको छ । जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरि आर्थिक अपराध, चोरी, लुटपाट, ठगि लगायतका घटना नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले विशेष योजना ल्याएको छ । प्रहरीले व्यापारिक केन्द्रलाई मुख्यरुपमा निगरानीमा राखेको छ । ढुक्क भएर चाडपर्व मनाउन र कुनै असुविधा भएमा प्रहरीको सेवा लिन सुर्खेतका प्रहरी प्रमुख पदमबहादुर विष्टले आग्रह गरेका छन् ।

यता राष्ट्रिय उपभोक्ता मञ्चका सुर्खेत प्रतिनिधि कुमारी भुसालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले जनशक्ति अभाव देखाउँदै उपभोक्ताको हित र अधिकारलाई प्राथमिकता दिन नसकेको बताईन् । उनले स्थानीय जनप्रतिनिधिलाई बजार अनुगमनको जिम्मेवारी दिदाँ प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको जिकिर गरिन् । ‘कानूनले वर्जित गरेका वस्तुहरु बेचविखन नगर्न समयमै व्यापारी, व्यवसायीहरुलाई सचेत गराउन तिनै तहका सरकारले अनुगमनलाई नियमित बनाईनु पर्छ,’ उनले भनिन्, ‘बजारलाई अनुशासित बनाउनका लागि प्रविधिको प्रयोग गरेर उपभोक्तालाई नठग्न दिन व्यवसायी माथि विशेष निगरानी राखिनु पर्छ ।’


गृहको छुट्टै अनुगमन टोली
गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिव नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाई सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातै प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न सो टोली गठन गरेको हो । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल दशैं, तिहार, छठ आदि चाडपर्व नजिकिँदै गएको सन्दर्भमा सुरक्षा, यातायात, आपूर्ति तथा बजार व्यवस्थापन लगायत सेवालाई सुलभ, गुणस्तरीय प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायद्वारा देशभर अनुगमन भइरहेको बताए ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ तथा उपभोक्ता संरक्षण नियमावली, २०५६ को नियम १८ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अधिकार प्रत्यायोजन गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।

स्काई न्यूज 

तपाईको प्रतिक्रिया