धुलियाबिट-भेडाबारी सडक तिहार लगत्तै स्तरोनन्ती गर्ने तयारी

                      फाईल फाेटाे

सुर्खेत  । सुर्खेत खण्डमा पर्ने मदन भण्डारी राजमार्गको धुलियाबिट- भेडाबारी-बोटेचौर सडक खण्ड स्तरोन्नति हुने भएको छ । तिहार लगत्तै स्तरोन्नति गर्ने आयोजनाले जनाएको छ । ठेक्का प्रक्रिया टुंगिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका इन्जिनियर शिव तिमिल्सेनाले बताए ।
कालीका केएसजेभीले यो राजमार्ग अन्तगृत धुलियाबिट- बोटेचौर खण्डमा स्तरोन्नति गर्ने जिम्मा पाएको छ । स्तरोन्नतिका लागि निर्माण कम्पनीले हाल लेआउट सर्भेको काम गरिरहेको छ । दशैसम्म सर्भे सक्ने र तिहार लगत्तै स्तरोन्नति गर्ने आयोजनाको तयारी छ । बहुबर्षिय आयोजना अन्तर्गत स्तरोन्नति थालिने भएका हो ।
धुलियाबिटदेखि बोटेचौरसम्म ३५ किलोमिटर सडक खण्डको स्तरोन्नति गर्न लागिएको हो । नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने छ । हाल सडक औसत चार मिटर चौडाइ छ । अब स्तरोन्नति गर्दा झण्डै ५२ प्रतिशत सडक चौडा हुनेछ ।
यो आयोजना कार्यान्वयन गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ र १३, लेकबेशी नगरपालिकाको वडा नं. १, २, ३, ४, ६, ७, ९ र १० र गुर्भाकोट नगरपालिका वडा नं. १०, १२, १३ र १४ प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । यो सडक स्तरोन्नति भएको खण्डमा पूर्वका नागरिकलाई वीरेन्द्रनगर आउजाउ गर्न सहज हुनेछ । २०३६ सालमा ट्र्‍याक खुलेको धुलियाबिट-भेडाबारी सडक खण्ड ४२ वर्षपछि स्तरोन्नती हसन लागेको हो । स्तरोन्नतिका लागि दुई अर्ब बजेट खर्च हुनेछ ।

तपाईको प्रतिक्रिया