
सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकासम्म ११ केभीको केन्द्रीय प्रसारण लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले एक वर्षअघि ठेक्का लगाए पनि अझै काम सुरु भएको छैन । ठेकेदार कम्पनीको लापरबाहीले झन्डै ४२ किलोमिटर दूरीको विद्युत् प्रसारण लाइन विस्तारको काम अलपत्र परेको हो ।
लाइन विस्तारका लागि नमुना कन्स्ट्रक्सन रामेछापले ७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । जाजरकोटको नलगाड नगरपालिकाको चौखा स्टेसनबाट डोल्पाको त्रिपुराकोटसम्मको विद्युत् लाइन विस्तारका लागि गत वर्ष भदौमा ठेक्का सम्झौता गरिएको थियो । विद्युत् लाइन विस्तारका लागि गरिने प्रि-कन्स्ट्रक्सन सर्भेका लागि काम गरिए पनि सर्भे पास नहुँदा काम अलपत्र परेको हो । सर्भेका क्रममा केही त्रुटि भएको पाइए पनि ३ महिनाअघि ठेकेदार कम्पनीलाई त्रुटि सच्याउन आग्रह गरिएको विद्युत् प्राधिकरणको कणर्ाली प्रादेशिक कार्यालयले जनाएको छ ।
सर्भे गर्दा गल्ती भएको ठाउँ सच्याई तुरुन्तै काम गर्न आग्रह गरिए पनि ठेकेदार कम्पनीले बेवास्ता गरेको प्रादेशिक कार्यालय कणर्ालीका प्रमुख सुरेन्द्र अग्रहरीले बताए । उनका अनुसार अहिले ठेकेदार कम्पनीका प्रतिनिधि सम्पर्कमा छैनन । उनले विभिन्न माध्यमबाट ठेकेदारलाई सम्पर्कमा ल्याउन प्रयास गरिए पनि सफल नभएको बताए ।
जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीसम्म ११ केभी प्रसारण लाइन पुगिसकेको छ । त्यहाँबाट चौखासम्मको विद्युत् प्रसारण लाइनको कामसमेत भइरहेको छ । जाजरकोटतर्फको काम पूरा भएमात्र डोल्पासम्म विद्युतीकरण गर्न सजिलो हुने ठेकेदार कम्पनीले दाबी गरिरहेको छ । अग्रहरीले डोल्पाको त्रिपुरोकोटमा सवस्टेशन निर्माण गर्ने योजना बनाइएको बताए । उनका अनुसार डोल्पातिरको काम नहुँदा जाजरकोटको बारेकोट, कुशे र जुनिचाँदेमा पनि लाइन बिस्तार गर्न समस्या भएको छ ।
उनका अनुसार ११ केभी प्रसारण लाइन डोल्पा पुगेमा त्यहाँ निर्माण हुन लागेको जगदुल्ला हाइड्रोपावरको काम गर्नसमेत सहयोग पुग्छ । उनले नलगाड नगरपालिका-७ जाजरकोटमा निर्माण हुन लागेको ४ सय केभी प्रसारण लाइनको कामलाई गति दिन पनि लाइन विस्तार जरुरी भएको बताए । कणर्ालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला र कालीकोट राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । तर ७ वटै जिल्लामा अनियमित लोडसेडिङको समस्या छ भने ग्रामीण क्षेत्रका बासिन्दा विद्युत्बाट वञ्चित छन् ।


दर्शन खबर । १७ आश्विन २०७८, आईतवार