राउटेको पनी जनगणना गर्ने तयारी

सुर्खेत । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको जनगणना गरीने भएको छ । सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिण्डे नगरपालिका वडा नं १ को घाटगाउँमा बस्दै आएका राउटेहरुको पनी जनगणना गरिने भएको हो ।
सुर्खेत प्रदेश जनगणना कार्यालयले राउटेहरु छिटो-छिटो बसाइँ सर्ने हुँदा छुट्ने वा दोहोरिन सक्ने भएकाले जनगणनाको अन्तिम समयमा गर्ने गरी स्थानीय जनगणना कार्यालयहरूसँग समन्वय भइरहेको जनाएको छ । अति लोपोन्मुख यो समुदायमा हाल १४० जना छन् । जनगणनाका लागि सुर्खेतस्थित प्रदेश जनगणना कार्यालयले दैलेखको गुराँस गाउँपालिका र सल्यान जिल्ला जनगणना कार्यालयसँग समन्वय गरिरहेको छ ।
बाह्रौं राष्ट्रिय जनगणनाअन्तर्गत यही भदौ ३० गतेदेखि घरधुरी तथा घरपरिवार सूचीकरण कार्य जारी छ । यो कार्य असोज १८ गतेसम्म हुनेछ । घरधुरी, घरपरिवार तथा कृषिसम्बन्धी विवरण सूचीकरण गर्ने चार दिनमात्र बाँकी रहँदा सुपरीवेक्षकहरु राउटे बस्ती पुगेका छैनन् ।
विसं २०५८ र २०६८ को जनगणनामा राउटेको सङ्ख्या यथार्थभन्दा बढी देखाइएको राउटे अभियानकर्मीको आरोप छ । यी गणनामा राउटेको सङ्ख्या ५०० भन्दा बढी भएको उल्लेख थियो ।
जिल्ला तथ्याङ्क कार्यालयका सहायक जनगणना अधिकारी कुमारी सीता तिमिल्सेनाले यसपटकको गणनामा राउटे समुदायको वास्तविक विवरण सङ्कलन हुने बताए । ‘मेरो गणना-मेरो सहभागिता’ भन्ने नाराका साथ यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मुख्य जनगणना कार्य सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया