४ महिना पछी बनगाडले ल्यायाे ७४ करोडकाे बजेट


सल्यान । बनगाड कुपिण्डे नगरपालिकाले ७४ करोड बढीको बजेट सार्वजनिक गरेको छ । संबैधानिक प्रावधान अनुसार असार १० गतेभित्रै नीति कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने भएपनी जनप्रतिनिधिको आन्तरिक विवादका कारण समयमै बजेट आउन सकेको थिएन । बुधबार सम्पन्न नगरसभाबाट ७४ करोड २९ लाख २५ हजारको बजेट पारित गरेको नगरपालिकाले जनाएको छ । जस अन्तर्गत चालु तर्फ ६० प्रतिशत र पूजीगत तर्फ ४० प्रतिशत बजेट विनियोजन गरिएको छ ।
ढिलो भएपनि नगरको विकासलाई गति दिने र नगरवासीहरुको आवश्यकतालाई पुरा गर्ने गरी बजेट ल्याएको नगरप्रमुख गोविन्द पुनले बताएका छन् । मुख्य रुपमा पर्यटनलाई जोड दिएर शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युत लगायतका जनताका आधारभूत विषयलाई प्राथमिकता राखी जनमुखी बजेट ल्याएको उनको भनाइ छ । नगरसभामा २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पुनले आफ्नो नगरपालिका भौगोलिक रुपमा बिकट भएपनी पर्यटकीय हिसावले संभावना बोकेको नगरपालिका भएकाले पर्यटन प्रवद्र्धन सम्बन्धि कार्यक्रम लागू गर्न बजेट बिनियोज गरिएको बताए ।
यस्तै विकास निर्माणका काम संगै लक्षित वर्गलाई सम्बोधन गर्ने खालका विभिन्न कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरेको उपमेयर मञ्जु यरीले बताइन । राजनीतिक बिवादका कारण केही महिना हुन नसकेको नगर सभाले गर्दा नगरबासीमा केही नकारात्मक प्रभाव बढेपनि अब भने कामलाई तिब्रताका साथ अगाडि बढाउन आफुहरु लागिपर्ने बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मीले बताए । रेग्मीले आफुहरुले जति सक्यो छिटै काम सम्झौता प्रक्रिया अगाडि बढाएर कार्यन्वयनमा जाने बताएका हुन ।

तपाईको प्रतिक्रिया