लेकवेशीमा बालबालिकाहरुका लागी बहिरंग उपचार केन्द्र सञ्चालन


सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिकामा शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन बहिरंग उपचार केन्द्र सञ्चालन गरिएको छ । कुपोषित बालबालिकाहरुलाई उपचारात्मक विधिबाट पोषणमा सुधार ल्याउन आजदेखि प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा उपचार केन्द्र सुरु गरिएको हो । उपचार केन्द्रको उद्घाटनपछि बोल्दै लेकवेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खरेलले कुपोषित बालबालिकाको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको बताए । उपचार केन्द्रले नगरपालिकामा पोषणको अवस्था सुधार गर्न समेत महत्वपूणर् सहयोग पुग्ने खरेलले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका पोषण फोकल पर्सन अमर रानाले पोषण बालबालिकाका लागि अत्यन्त महत्वपूणर् भएको भन्दै कुपोषित बालबालिकाले भविश्यमा समेत सोचअनुसार काम गर्न नसक्ने बताए । भोलीको समृद्ध नेपाल बनाउका लागि आजैदेखि पोषणमा लगानी गर्नुपर्ने उनको भनाइ छ । दशरथपुर स्वास्थ्य केन्द्रका डा.तपेन्द्र कोइरालाले बालबालिकाहरुले पर्याप्त पोषणयुक्त खान खान नपाएर र धेरै खाएर कुपोषण हुने भन्दै दुबै पक्षमा ध्यान दिनुपर्ने बताए । स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने १५ प्रतिशत बालबालिकामा कुपोषण देखिएको डा. कोइरालाको भनाई रहेको थियो । उपचार केन्द्र सञ्चालनपछि लेकवेशी नगरपालिकाका बालबालिकाहरुको पोषणको अवस्था सुधार हुने विश्वास व्यक्त गरे ।
शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन बहिरंग उपचार केन्द्र सञ्चालनका लागि सुआहारा कार्यक्रम र स्याक नेपालको सहयोग रहेको छ । आजै लेकवेशी नगरपालिकाका सम्पूणर् स्वास्थ्य संस्थाका इन्चार्जहरुलाई पोाषण सम्बन्धी अभिमुखकरण पनि गरिएको छ । लेकवेशीसंगै सुर्खेतका ८ वटा पालिकामा उपचार केन्द्र सुरु भैसकेको छ ।

तपाईको प्रतिक्रिया