
बाँके । नेपालगञ्जमा रहेको भाटभटेनी सुपरमार्केटमा म्याद गुज्रेका खाद्यवस्तु बिक्री गरिरहेको पाइएको छ ।
सुपरमार्केटमा बिक्रीका लागि उत्पादन हुने बेकरी जति सबै म्याद गुज्रेर खान नमिल्ने अवस्थामा भए पनि बिक्री वितरण हुँदै आएको भेटिएको हो ।
उपभोक्ता हित संरक्षण समितिले नेपालगन्ज भाटभटेनी सुपरमार्केटमा अनुगमन गरेको थियो । चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको बिक्री हुने आशंकाले समितिले अनुगमन गरेको थियो । नभन्दै अनुगमनमा म्याद गुज्रेका बेकरी उत्पादन बिक्री हुँदै आएको पाइएको र ठूलो परिमाणमा अखाद्य बेकरी उत्पादन बरामद भएको छ ।
जिल्ला प्रशाशन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, वाणिज्य कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मंञ्चको संयुक्त अनुगमन समितिले बजार अनुगमनका क्रममा नेपालगञ्ज-१८ सुर्खेतरोडमा ‘अपरक्राष्ट प्रालि चुच्चेपाटी काठमाडौ’को नामले सञ्चालनमा रहेको बेकरी उद्योगबाट म्याद गुजे्रको बेकरी उत्पादन गर्ने कच्चा पदार्थ भेटिएको जनाएको छ ।
अनुगमन टोलीमा रहेका जिल्ला प्रशाशन कार्यालय बाँकेका अधिकृत हरिश्चन्द्र शर्माले बेकरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ काठमाडौंबाट ल्याइएको र सबैको म्याद गुजे्रको अवस्थामा भेटिएको जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विवेक कुमार सुवेदीले बजार अनुगमनका क्रममा नेपालगन्ज बजारका केही होटल तथा सपिङ मलमा यस उद्योगको उत्पादनहरुमा उत्पादन मिति, म्याद समाप्त हुने मिति उल्लेख नभएको अवस्थामा पाइएको बताए ।
खोजी गर्दै जाँदा सुर्खेतरोडमा उद्योगको कुनै बोर्ड नराखी, खाद्य अनुज्ञापत्र समेत नलिएर सञ्चालनमा रहेको अवस्थामा गोदाम भरी प्रयोगका म्याद गुजारेका बेकरी उत्पादन गर्न आवश्यक पर्ने कच्चा भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनको भनाइ छ ।


दर्शन खबर । १४ आश्विन २०७८, बिहीबार