
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध हटाउनेबारे छलफल गर्न विहीबार बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक आयोजना गरेका छन् । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने-नहुने निश्चित छैन ।
‘विहीबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ, त्यसअघि संसदको अवरोधबारे छलफल गर्न प्रधानमन्त्रीले बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाईएको प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिकामा रहेका गोविन्द परियारले जानकारी दिए ।
बिहीबारको सर्वदलीय बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी हुने-नहुने निश्चित छैन । यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । आफूहरुले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको हो । साथै आफूहरुले सभामुखको निणर्यमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।


दर्शन खबर । १४ आश्विन २०७८, बिहीबार