
सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कर्णालीका ६२ स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । कर्णालीका ७९ स्थानीय तहमध्ये १७ स्थानीय तहमा गाउँ/नगरको अधिवेशन हुन बाँकी छ ।
सुर्खेतका ९ र डोल्पाका ८ स्थानीय तहमा अधिवेशन भएको छैन । क्रियाशील सदस्यता विवाद टुंगिए पनि सुर्खेत र डोल्पामा अधिवेशनको कार्यतालिका तोकिएको छैन ।
निर्वाचन सम्पन्न गाउँ/नगरको अधिवेशनलाई आधार मान्ने हो भने कर्णालीका प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ । अधिवेशन सम्पन्न भएका ६२ मध्ये ३४ स्थानीय तहमा पौडेल समूहले बहुमत पदाधिकारीसहित सभापति हात पारेको सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीहरुले बताएका छन् ।
पौडेल समूहले कालीकोट, दैलेख, रुकुमपश्चिम र जुम्लामा पकड कायम राखेको छ। सल्यान र जाजरकोटमा भने दुवै समूह बराबरी देखिएका छन्। पौडेल समूहले कालीकोटका ७, दैलेख र जुम्लाका ६-६, सल्यान र रुकुम पश्चिमका ५-५, जाजरकोटका ३, हुम्ला र मुगुका एकएक स्थानीय तहको नेतृत्व हात पारेको छ ।
कांग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा समूहले भने कर्णालीका २७ वटा स्थानीय तहमा सभापति हात पारेको छ । मुगु र हुम्लामा देउवा समूह बलियो छ । देउवा समूहले हुम्लाका ६, सल्यान र दैलेखका ५-५, जाजरकोट र मुगुका ३-३, कालीकोट र जुम्लाका २-२ र रुकुमपश्चिमका एक स्थानीय तहको सभापति हात पारेको हो । जाजरकोटको भेरी नगरपालिका सभापति शशि बुढा भने खुलेका छैनन् । युगआह्वान दैनीकमा खबर छापिएको छ ।


दर्शन खबर । १४ आश्विन २०७८, बिहीबार