
सुर्खेत । दशैं तिहारसम्म सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रिने बादी समुदायको चेतावनी दिएका छन् ।
२०७७ फागुन १० देखि कणर्ालीका भूमिहीन र सुकुम्बासी बादी समुदायले आफूहरूलाई उचित गास र बासको व्यवस्था गर्न माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि धर्ना दिए ।
धर्ना पश्चात प्रदेश सरकारले उनीहरूसँग ५ बुँदे सहमति गरेको थियो, तर सहमति भएको ६ महिनासम्म सरकारले उक्त सहमति कार्यान्वयन भएको छैन ।
प्रदेश सरकारले बादीहरूलाई जमिन उपलब्ध गराइदिन नेपाल सरकारलाई अनुरोध गरी आवश्यक समन्वय गर्ने, उत्थान र विकासका लागि दुई महिनाभित्र यथार्थपरक प्रतिवेदन पेस गर्न ३ सदस्यीय कार्यदल गठन गर्नेलगायत सहमति गरेको थियो ।
करिब ५ सय बादी समुदायका व्यक्ति धर्नामा सहभागी थिए । सरकारले सहमति कार्यान्वयन गर्न ध्यान नदिएको सुर्खेतका विष्णुबहादुर बादीले बताए । दसैं-तिहारसम्म सहमति कार्यान्वयन नगरे फेरि आन्दोलनमा उत्रिने तयारीमा रहेको उनले बताए । विगतदेखि नै पटकपटकका आन्दोलनमा राज्यले बादी समुदायलाई कागजी आश्वासनमा थामथुम पार्दै आएको मञ्जुल बादीको भनाई रहेको छ ।
तर बादी समुदायको माग पूरा गर्न प्रदेश सरकारले पहल गरिरहेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिए ।


दर्शन खबर । १३ आश्विन २०७८, बुधबार