अफर र चिठ्ठाको नाममा ठगी गर्नेलाई कारबाही गरिने

काठमाडौं । चाडपर्वको बेला बजारमा अफरका नाममा कमसल सामान बिक्री गर्ने र चिठ्ठामार्फत ठगी गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा अफर दिएर उपभोक्ता ठगी गर्ने गरेको फेला परे तत्काल कारबाही गर्ने बताएको छ ।

चाडपर्वको बेला बजारमा किनमेल बढी हुँदा व्यवसायीले विभिन्न अफर ल्याएर कमसल सामान दिएर उपभोक्ता ठग्ने गरेको उजुरी विभागमा पर्ने गरेको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले चाडपर्वको बेला व्यापारिक मलले अफर चिठ्ठाको नाममा उपभोक्ता ठग्ने भएकाले पनि त्यसतर्फ अनुगमन केन्द्रित हुनुपर्ने बताए । चाडपर्वको बेला व्यापारिक कम्पनीले सेलमा सामान राखेर पुराना कमसल सामान अफरमा दिएर बिक्री गर्ने गर्छन् । सस्तोमा सामान पाएर खरिद गर्ने तर ठगिने गरेको उपभोक्ताको गुनासो छ । शंखमूलकी पार्वती थापाले न्युरोडको मख्खनटोलमा अफरमा राखिएका कपडा खरिद गर्दा कमसल भएर आफू ठगिएको गुनासो गरिन् ।
विभागका निर्देशक शिवराज सेढाईंले उपभोक्तालाई ठग्ने नियतले अफरमार्फत कमसल सामान वितरण गर्नेलाई कारबाही गरिने बताए । चाडपर्वको बेला बजारमा हुन सक्ने मूल्यवृद्धि, कमसल सामान बिक्री म्याद नाघेका सामान वितरण, तौलमा कमी, रिलेबलिङ्गको समस्या हुनसक्ने भन्दै संयुक्तरूपमा बजार अनुगमन गरिएको उनले जानकारी दिएको छ ।
चाडपर्वको बेला बजारमा किनमेल बढी हुने भएकाले व्यापारिक मलले कमसल सामान दिन उपभोक्ता ठग्ने सक्ने भएकाले पनि अनुगमनलाई तीव्र पारिएको विभागले जानकारी दिएको छ । दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेकाले बजारमा अभाव नभएको विभागको दाबी छ । काराेबार दैनीकमा खबर छापिएकाे छ ।


तपाईको प्रतिक्रिया