कर्णालीमा खाद्यान्नको माग बढ्दै

सुर्खेत । चाडपर्व नजिकिएसँगै पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्नको माग बढ्दै गइरहेको छ । हिमाली जिल्लाहरूमा मानसरोवर जाने पर्यटक आउनुका साथै चाडपर्व नजिकिएकाले आम नागरिकले खाद्यान्न मौज्दात गर्न थालेपछि चामलको माग बढ्दै गएको हो ।

माथिल्लो डोल्पा बाहेक कर्णालीका सबै खाद्य डिपोमा पर्याप्त चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ । मुगु लगायत कतिपय जिल्लाहरूमा स्थल मार्गबाट चामल ढुवानी भइरहेकाले सङ्कटको अवस्था नरहेको कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताउनुभयो ।

उहाँले माथिल्लो डोल्पामा सडकको असहजतासँगै स्थानीय तहले कर्णाली प्रदेश सरकारको अनुदानमा चामल वितरण गरेकाले अनुकूल मौसम पर्खंर्दै हाल खाद्यान्न ढुवानीलाई तीव्रता दिन लागिएको जनाउनुभयो । उहाँका अनुसार दशैं अगावै खाद्यान्नको माग भएका स्थानमा चामल ढुवानी हुने पक्का भएको छ ।

उहाँले मुगु र डोल्पामा खाद्यान्न अभाव भन्ने मिडियामा आएजस्तो जिल्लाभरि नभई केही स्थानमा चामलको माग भएकाले स्थल र हवाई मार्ग मार्फत चामल ढुवानी तीव्र पारिएको बताउनुभयो । कम्पनीको सुर्खेत गोदामबाट सोमबार मुगुका लागि स्थल मार्गबाट खड्का निर्माण सेवाले १ सय ७० मेट्रिक टन चामल पुर्‍याएको कम्पनीले जनाएको छ ।

सुर्खेत स्थित कम्पनीको गोदाममा अहिले पनि पहाडी तथा हिमाली जिल्लामा पठाउनका लागि २२ हजार क्विन्टल चामल मौज्दात रहेको सुर्खेत स्थित प्रादेशिक कार्यालयका लेखापाल विनोद पौडेलले बताउनु भयो । उहाँले हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा चामल पठाउने तयारी पुरा भएको जनाउनु भयो । अहिले यी जिल्लाहरूमा चामलको माग अत्यधिक छ ।

 


तपाईको प्रतिक्रिया