
काठमाडौं । घटस्थापनाको दिन (असोज २१) देखि देशभरका हल खुल्ने भएका छन् । अंग्रेजी फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’ प्रदर्शन गर्दै देशभरका हल खुल्ने भएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए ।
अंग्रेजी फिल्मबाट हलहरु खुल्नेछन् । अहिलेसम्म खासै नेपाली फिल्महरुको प्रदर्शन टुंगो लागिसकेको छैन । सोभित बस्नेतको फिल्म फूलपातीमा लाग्छ,’उनले भने ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै हल खोल्ने तयारी रहेको शर्माले बताए । उनका अनुसार हलमा दुई नेपाली फिल्म एकै मितिमा भिड्नु पाउनेछैनन् । निर्माता जोगाउनका लागि आफूहरुले हल खुलेको तीन महिनासम्म यो नियम लागू गर्नेसमेत बताए ।
यसअघि उपत्यकाभित्रको हलहरु खोल्न पाइने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको थियो । तर चलचित्र संघ नेपालभरको हल खोल्ने अनुमति नदिएको भन्दै पुन बन्द गर्ने निर्णयमा पुगेको थियो ।
कोरोना महामारीबीच पनि हल खुलेको थियो । तर, निर्माताहरुले फिल्म प्रदर्शन नगर्दा हल बन्द भयो । घटस्थापनाको दिनदेखि हल खोल्ने भनिए पनि अझै फिल्महरुको प्रदर्शन पक्का भइसकेको छैन । निर्देशक बस्नेतले भने फूलपातीको दिनदेखि डाँडाको बर पिपलु प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको छ ।


दर्शन खबर । १३ आश्विन २०७८, बुधबार