सुर्खेतमा नेकपा माओवादी केन्द्रको सङ्गठन विस्तार तिब्र

सुर्खेत।  नेकपा माओवादी केन्द्रले सुर्खेतमा सङ्गठन विस्तार लगायतका गतिविधि बढाएको छ । नेकपा विभाजनपछि पार्टीको निर्देशन अनुसार पार्टी कार्यालय विस्तार, सदस्यता नवीकरणजस्ता गतिविधिहरू माओवादी केन्द्रले अगाडि बढाएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका ७ वटा वडामा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्र वीरेन्द्रनगरका इञ्चार्ज दानसिंह सुनारका अनुसार वीरेन्द्रनगरका १, ३, ५, ६, ७, १२, र १४ वडामा पार्टीका वडा कार्यालय स्थापना गरिएको छ । अन्य वडा तहमा पनि कार्यालय विस्तारको काम भइरहेको उनले बताए ।

वीरेन्द्रनगरमा पार्टीका ८ सयभन्दा बढी सदस्यको सदस्यता नवीकरण गरिएको पनि उनले बताए । वीरेन्द्रनगरमा पार्टीको एक हजार ४ सय बढी सदस्यता नवीकरण गरिने अनुमान गरिएको उनले बताए । २० गतेसम्म वडा तहको सम्मेलन गरिसक्ने पनि नेकपा माओवादिले लक्ष्य लिएको उनले बताए । पार्टीभित्र ६ महिना देखि एक वर्षसम्मको अवधिमा साधारण सदस्यता लिएकाहरूको पनि नवीकरण गरिएको  उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर (सुदिप) मल्लले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो नम्बरको पार्टी बन्ने बताए । अब एमाले दुई टुक्रा भइसकेको र काँग्रेसभित्र पनि आन्तरिक कलह का कारण माओवादी केन्द्र नै पहिलो पार्टी बन्ने उनले दाबि गरेका छन् ।


तपाईको प्रतिक्रिया