![]()
मुगु । बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकीलगायत समस्या देखिए पछि मुगु जिल्ला अस्पताल बिरामी बालबालिकाले भरिभराउ भएको छ । बिरामी बालबालिकाले अस्पताल भरिभराउ भएपछि बेडको समेत अभाव भएको छ ।
कसैलाई भुइँमै राखेर उपचार गर्न थालिएको जिल्ला अस्पतालका डा. अमिर राज गिरीले बताए । उनका अनुसार अस्पतालमा भर्ना गरिएका झन्डै ७५ प्रतिशत बालबालिकामा निमोनिया र २५ प्रतिशत बालबालिकामा रुघाखोकी र ज्वरोको लक्षण देखिएको छ ।
सबैभन्दा बढी १ देखि ३ वर्षसम्मका बालबालिका प्रभावित भएको उनले जानकारी दिए । बिरामी बालबालिका थपिँदै गएपछि औषधिको अभाव भएको उनले बताए । छोरालाई निमोनिया भएपछि ५ दिनदेखि अस्पतालमा भर्ना गरिएको रोवागाउँकी सुन्दरी सार्कीले बताइन् । उनका अनुसार गाउँभरिका बालबालिका पनि ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीले थलिएका छन् । गाउँको स्वास्थ्यचौकीमा औषधि पनि नभएको र स्वास्थ्यकर्मी समेत स्वास्थ्यचौकीमा नभेटिने उनले गुनासो गरिन् । सामान्य अवस्थाका बालबालिका घरेलु जडिबुटीको भरमा रहेको र जटिल अवस्थाका बिरामीलाई यहाँ ल्याउनुको विकल्पै छैन उनि भन्छिन् ।
केही बालबालिकामा जटिल स्वास्थ्य समस्या देखिएपछि जुम्ला र सुर्खेत रेफर गरिएको छ । एक साताको अवधिमा ५ बालबालिकालाई जिल्ला बाहिर रेफर गरिएको अस्पतालकी अनमी सरिता बुढाले बताइन् । उनका अनुसार अस्पतालमा झन्डै ८० बालबालिका भर्ना गरिएका छन् । भदौ तेस्रो सातादेखि बालबालिकामा निमोनिया, ज्वरो रुघाखोकीलगायत समस्या देखिएको उनले जानकारी दिइन् ।
बालरोग विशेषज्ञ नहुँदा उपचारमा समस्या भएको अस्पतालका डा. डबल मल्लले बताए । अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक सिद्धार्थध्वज खाती घर बिदामा गएपछि अन्य चिकित्सक र स्वास्थ्यकर्मीलाई भ्याइनभ्याई भएको हो ।


दर्शन खबर । ११ आश्विन २०७८, सोमबार