आज सातौँ संविधान दिवस


काठमाडाै‍‍‍‌‍‍‍। आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।
नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो।
संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
यस्तै, नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन्।
राष्ट्रपति भण्डारीलाई भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, रुसी महासङ्घ, सङ्घीय गणतन्त्र जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपति, जापानका सम्राटलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश पठाएको र ती प्राप्त हुनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसै अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारत सरकार, भारतीय जनता र स्वयम् आफ्नोतर्फबाट राष्ट्रपति भण्डारीमा शुभकामना व्यक्त गर्दै पठाएको सन्देशमा उनले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको बताएका छन्।
भारतका राष्ट्रपतिले राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे।
यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरे।
संविधान दिवसको उपलक्ष्यमा अमेरिकी राष्ट्रपति जोसेफ आर वाइडेनले राष्ट्रपति नेपाली जनता र राष्ट्रपति भण्डारीप्रति हार्दिक बधाई ज्ञापन गरेका छन्। सन्देशमा उनले बितेको वर्ष कोभिड-१९ को महामारी र जलवायु परिर्वतनले निम्त्याएका सङ्कटको सामनाका साथै आर्थिक सम्बन्ध सुधारका निम्ति दुवै देशले सहकार्य र सहयोग गरेका बताए। कूटनीतिक सम्बधमार्फत सुदृढ रहेको सत्तरी वर्षभन्दा पुरानो चिरस्थायी अमेरिका-नेपाल मैत्रीको उनले सराहना गरे।

तपाईको प्रतिक्रिया