नेपाल युवा संस्थाले युवा मन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय युवा नितिको प्रभावकारी कार्यान्वयन गराउन भन्दै नेपाल युवा संस्था (आयोन) नेपालले युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई ज्ञापन पत्र बुझाएको छ ।
युवाको क्षेत्रमा वकालत, पैरवी गर्ने राष्ट्रिय स्तरको गैर सरकारी संस्था
आयोनका अध्यक्ष जगदिश ऐरले युवा तथा खेलकुद मन्त्री विश्वकर्मालाई ज्ञापन पत्र बुझाएका हुन् ।

आयोनका तर्फबाट मन्त्री जगत बहादुर विश्वकर्मा समक्ष बुझाइएको ज्ञापन पत्रको पुर्णपाठ ।

१.नेपाल सरकारद्वारा जारी गरिएको राष्ट्रिय युवा नीतिको प्रभावकारी कार्यान्वयनका लागि यथाशीघ्र रणनीतिक योजना बनाई त्यसको प्रभावकारी कार्यान्वयन तथा आवधिक सम्परीक्षण गरियोस् । यस सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयबाट आवधिक कार्यप्रगतिबारे सूचना प्राप्त गर्नका लागि प्रवक्ता तोकियोस् र आवधिक जानकारी वेभसाइट लगायत मार्पmत् सबैलाई गरियोस् ।

२. नेपाली युवाहरूको क्षमता अभिवृद्धि तथा सिकाइका लागि विभिन्न देशहरूसँग मिली ल्याइएको दीगो युवा आदान–प्रदान कार्यक्रमलाई सञ्चालनमा ल्याइयोस् । यसका लागि निष्पक्ष ढङ्गबाट योग्य र सक्षम युवाले नेपालको प्रतिनिधित्व गरी बाहिरी देशको सिकाइलाई नेपालमै उपयोग गर्ने वातावरण तयार गरियोस् ।

३. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्द्वारा जारी गरिएको युवा, शान्ति र सुरक्षा २२५० को नेपालमा पनि राष्ट्रिय, प्रादेशिक र स्थानीय तहमा परामर्श गरी कार्यक्रम योजना तयार गरी स्थानीयकरण गरियोस् ।

४. आ.व. २०७६र७७ मा युवा क्षेत्रका लागि कम्तीमा पनि १० प्रतिशत बजेट विनियोजन गरियोस् । साथै युवासँग सरोकार राख्ने सम्पूर्ण कार्यक्रमहरूको यथाशीघ्र प्रभावकारी र अर्थपूर्ण कार्यान्वयन गरियोस् ।

५. दीगो विकासका लक्ष्यहरू प्राप्तिका लागि आवश्यक निर्दे्शिका तयार गरी ती लक्ष्यहरूलाई स्थानीयकरण गर्ने कार्य अघि बढाइयोस् । यस क्रममा तथा उक्त लक्ष्यहरू प्राप्त गर्नका निमित्त चालिने प्रत्येक चरणहरूमा युवाको भूमिका खोज्दै हामी सम्पूर्ण युवाहरू व्यक्तिगत र संस्थागत रूपमा लागि पर्ने दृढता समेत व्यक्त गर्दछौँ । यसका लागि युवा तथा खेलकुद मन्त्रालयबाट युवाका लागि कार्य गर्ने वातावरण मिलाउन तदारुकता देखाइयोस्, लक्ष्य प्राप्तिका लागि कार्य गर्ने जिम्मेवारीमा हामी युवाहरू लागिपर्ने वचनबद्धता प्रकट गर्दछौँ ।

६. सामाजिक उद्यमशीलतामा युवा सहभागिता बढाउन हौसलापूर्ण कार्यक्रमहरू अगाडि ल्याई प्रभावकारी र अर्थपूर्ण रूपमा कार्यान्वयन समेत गरियोस् ।

७. राष्ट्रिय युवा परीषद ऐन संशोधन मस्यौदा तत्काल प्रक्रिया मा अगाडि बढाईयोस्।

तपाईको प्रतिक्रिया