हाम्रो सानो प्रयास नेपालको राउटे समुदायलाई सहयोग

सुर्खेत । केही साता अघि राउटे समुदायका दुई युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापपछि उनीहरुको बस्तीमा प्रवेश निषेध गरिएको छ । कोरोनाका कारण जारी निषेधाज्ञाका कारण राउटे समुदाय काठका सामग्रीहरु बिक्री गर्न बाहिर निस्कन पाएको छैन । अहिले बस्तीमा खाद्यान्नको संकट छ । राउटे बस्तीमा खाद्यान्न संकट कम गर्नका लागि हाम्रो सानो प्रयास नेपाल र इन्सिच्यूट फर नेपालको सहयोगमा संकलित ७५ हजार पाँच सय रुपैयाँ कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
‘राउटे समुदायका युवतीमाथि भएको घटनापछि बस्ती शिल गरिएको र प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली लागू गरेकाले संकलित रकम सामाजिक विकास मन्त्रालयको सामाजिक महाशाखा प्रमुखलाई हस्तान्तण गरिएको हाम्रो सानो प्रयास नेपालका कर्णाली प्रदेश संयोजक रमेश हमालल जानकारी दिनुभयो ।
संकलित रकम रमेश हमाल र खगेन्द्र हमालले सामाजिक विकास महाशाखाका प्रमुख अनिता ज्ञवालीलाई हस्तान्तरण गर्नु भएको थियो । महाशाखा प्रमुख ज्ञवालीले बस्तीमा राहत वितरणका नाममा अनावश्यक भीडभाड हुनुका साथै उनीहरुको परम्परा र संस्कृतिमाथिनै खतरा उत्पन्न भएपछि एकद्वार प्रणाली लागू गरिएको बताउनुभयो । उहाँले महाशाखालाई प्राप्त सहयोग राउटे समुदायका मुखियाहरुसँग छलफल गरेर आवश्यक खाद्यान्न, पाल र कपडा खरिदमा खर्च गरिने जानकारी दिनुभयो ।

राहत वितरणका नाममा राउटे समुदायको बस्तीमा हुने अनाधिकृत प्रवेश रोक्न स्थानीय प्रशासनले एकद्वार नीति ल्याएको छ । प्रमुख जिल्ला अधिकारी छवी रिजालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सिधै राउटे समुदायको बस्तीमा पुगेर राहत वितरण गर्ने कार्यमा रोक लगाएको छ ।
अब राउटे समुदायलाई सहयोग गर्न चाहने दाताहरुले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ । ‘जंगलमा फिरन्ते जीवनयापन गर्ने राउटे समुदायका आफ्नै मौलिक मूल्य, मान्यता र परम्परा छ,’ प्रजिअ रिजालले भने, ‘हालै यो समुदायका युवतीमाथि भएको दुर्व्यवहारको घटना र संवेदनशीलतालाई दृष्टिगत गरेर राउटेका लागि वितरण हुने राहतको उचित व्यवस्थापन गर्नका लागि एकद्वार प्रणाली लागू गरिएको हो ।’

 


तपाईको प्रतिक्रिया