चौकुने गाउँपालिकालाई स्याक नेपालको सहयोग


सुर्खेत । समाज जागरण केन्द्र (स्याक) नेपालले चौकुने गाउंपालिका सुर्खेतलाई कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीदेखि अन्य विभिन्न सहयोग गरेको छ ।
अष्ट्रेयिन एडको सहयोग, द लुर्थन वल्र्ड फेडेरेशनको साझेदारीमा स्याक नेपालले चौकुने गाउंपालिकामा सञ्चालन गरिरहेको सामुदायिक सशक्तिकरण र विकासका लागि स्थानीय पहल कार्यक्रम अन्तर्गत उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । पिपिइ १२ सेट, सर्जिकल मास्क १३० डिब्बा, स्टेरिलाइज्ड ग्लोब्स एक हजार जोडा, व्यक्तिगत सरसफाइ किट २०० सेट, स्यानिटाइजर ५०० एमएल ७० थान, स्वि¨ डस्टविन ४० लिटरका ७५ थान गरी २ लाख ४० हजार २ सय ८ रुपैंया बराबरको सामग्री हस्तान्तरण गरिएको छ । उक्त सामग्रीहरु गाउंपालिकाले आवश्यकता अनुसार संक्रमितहरुको उपचारका लागि स्थापना गरिएको आइसोलेशन उपचार केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरुमा वितरण गर्ने जनाइएको छ ।
सोही अवसरमा अपांगता भएका वा तिनका परिवारका सदस्यको आयआर्जन तथा जिविकोपार्जनका लागि समूहबाट सिफारिस भइ आएका २ जना व्यक्तिहरुलाई १-१ थान खुट्टाले चलाउने सिलाइृ मेशिन र अन्य आवश्यक सामग्री पनि वितरण गरिएको छ । त्यसैगरी ५ जनालाई २-२ वटाका दरले बंगुरका पाठा वितरण एवम् १६ जनालाई तरकारी, अदुवा, वेसार तथा धानको विउ समेत सोही अवसरमा वितरण गरिएको छ ।
सो अवसरमा गाउंपालिका अध्यक्ष धीरबहादुर शाहीले अहिलेको विषम परिस्थितिमा स्याक नेपालको सहयोगले गाउंपालिकालाई कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो । स्याक नेपालले गत वर्ष पनि सामग्रीहरु उपलब्ध गराएले गाउंपालिकालाई कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुगेको अध्यक्ष शाहीले स्मरण गर्नुभयो । स्याक नेपालले सञ्चाल गरिरहेको सुआहारा कार्यक्रमले सुनौला हजार दिनका आमा तथा बच्चा एवम् किशोरीहरुको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन योगदान गरेको बताउनुभयो । ‘कुपोषण भएका बच्चाहरुलाई सुपोषित बनाउन गरेको भूमिका एवम यस विषम परिस्थितिमा पनि फोनमार्फत सुनौंला हजार दिनका आमा, तिनका घरपरिवार, विदेश अथवा बाहिरबाट घरमा आएका परिवार तथा कोरोना संक्रमण भएका परिवारहरुलाई गरेको परामर्शले अहम भूमिका निर्वाह गरेको छ’ अध्यक्ष शाहीले भन्नुभयो,‘अपांता भएका, एचआइभी संक्रमित तथा बिपद प्रभावित र तिनका परिवार तथा सिमान्तकृत र पछाडि पारिएका वर्गहरुको सशक्तिकरण र विकास एवम जिविकोपार्जन र आयआर्जनका लागि गरेको सहयोगले विपन्न परिवारको आर्थिक उजार्पनमा सहयोग पुग्ने छ ।’ गाउंपालिकाको तर्फबाट पनि आफूहरुले सक्दो सहयोग गर्ने र संभव भएसम्म साझेदारीमा कार्यक्रम गर्न सकिने पनि अध्यक्ष शाहीले बताउनुभएको छ ।
त्यसैगरी सोही अवसरमा गाउंपालिका उपाध्यक्ष निर्मला राना मगरले कोभिड १९ रोकथाम तथा नियन्त्रणका साथसाथै पछाडि पारिएका वर्ग, अपांगता भएका, एचआइभी संक्रमित, विपद प्रभावित, दलित, जनजाति एवम गरिव र विपन्न परिवारलाई गरेको आर्थिक उपार्जन सहयोगले उहांहरुको सशक्तिकरण र विकास एवम आर्थिक उपार्जनमा सहयोग पुगी जीवनस्तर सुधार हुन मद्धत पुग्ने बताउनुभयो । त्यसका लागि सहयोग प्रापत गरेका परिवारले इमान्दारपूर्वक मेहेनतका साथमा प्राप्त सहयोगको सही सदुपयोग गर्दै आर्थिक उपार्जनमा लाग्नुपर्ने उपाध्यक्ष रानाले बताउनुभयो ।
स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यले गाउंपालिकामा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य चौहानसिंह राना क्षेत्री, कार्यकारी निर्देशक टीकाराम आचार्य तथा चौकुने गाउंपालिका कार्यक्षेत्र भएका कर्मचारीहरुको उपस्थिति रहेको थियो । आचार्यले आय-आर्जनका लागि वितरण गरिएका विभिन्न सहयोगले ती परिवारहरुको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिकाको तहबाट ती परिवारहरुको अनुगमन गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । आगामी दिनमा अझ प्रभावकारी ढंगले समन्वय, सहकार्य र साझेदारी गरेर कार्यक्रम अगाडि बढाउन संस्था प्रतिबद्ध रहेको र गाउंपालिकाबाट पनि सोही अनुसार हुने उहाँले आशा व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा स्याक नेपालका कार्यसमिति सदस्य चौहानसिंह राना, गाउंपालिका प्रमुख प्रशासकिय अधिकृत टेकेन्द्र बुढा, स्थास्थ्य शाखा सह संयोजक डिल्लीराम सापकोटा, लावान्वित वर्ग लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया