भेरी अस्पतालकाका चिकित्सक भन्छन्, माग पूरा नभए सामूहिक राजीनामा दिन्छौं


काठमाडौं । भेरी अस्पतालमा भएको घटनाप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघ भेरीले माग पूरा नभए सामूहिक राजीनामा दिने जनाएको छ ।
बिहीबार बेलुका कोरोना संक्रमित दाङका ५४ वर्षीय व्यक्तिको उपचारका क्रममा निधन भएको थियो ।
उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरूमाथि सांघातिक आक्रमण गरेका थिए । सो घटनाको विरोध गर्दै चिकित्सक संघले दोषीलाई कानुनी कारबाही हुनुपर्ने र आफूहरूको ज्यानको भरपर्दो सुरुक्षा ग्यारेन्टी नभए सामूहिक राजीनामा दिने जनाएको छ ।
चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कणर्का अनुसार बिरामीको मृत्यु भएपछि केही मानिसहरू ‘हामी शंकर पोखरेलको मान्छे हौं’ भन्दै अस्पताल प्रवेश गरी कुटपिट गर्न थालेका थिए ।
कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित चार जनाले दुई तला माथिबाट हामफालेर ज्यान बचाएका थिए । उनका अनुसार घटनाको एक घण्टासम्म पनि प्रहरीले समेत दोषी समात्न आनाकानी गरेको थियो ।
डा. कणर्ले भने, ‘अहिले हामी सबै आन्दोलित छौं, मृतकका भाइ मन रावतले फेसबुकमा लेख्दै धम्की दिएका छन् । दोषीलाई कानुनी कारबाही भएन र स्वास्थ्यकर्मी ज्यानको भरपर्दो सुरक्षा ग्यारेन्टी हुनुपर्ने माग राखेर भेरीका चिकित्सक तथा स्वास्थ्यकर्मी सबै आन्दोलनमा छौं ।’ नेपालसमय‍‍‌  

तपाईको प्रतिक्रिया