डोल्पाका बासिन्दा ढिकेनुन प्रयोग गर्न बाध्य

डोल्पा । डोल्पाका ३ स्थानीय तहमा साल्ट ट्रेडिङ कर्पोरेसनले स्थापना गरेको डिपोमा नुन नहुँदा अधिकांश बासिन्दा ढिकेनुन प्रयोग गर्न बाध्य छन् । सरकारले अनुदानस्वरूप दिने आयोडिनयुक्त नुन डोल्पाका ६ वटा स्थानीय तहका बासिन्दाको पहुँचमा छैन ।

डोल्पाको मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी नगरपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुन वितरण गर्न डिपो राखिएको छ ।

तिन्जेबाट टाढा रहेको फोक्सुन्डो र सालदाङका लागि क्याटोबाट नुन वितरण हुने गरेको साल्ट टेड्रिङ कर्पोरेसन लिमिटेडले जनाएको छ । तर सरकारले नुन नपठाउँदा ती गाउँपालिकाका बासिन्दा ढिकेनुन प्रयोग गर्न बाध्य भएको कर्पोरेसनका शाखा प्रमुख प्रकाशबहादुर धामीले बताए । अहिले सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुने गरेको छ ।

माथिल्लो डोल्पाको तिन्जे र क्याटो डिपोमा जाने नुनका लागि कर्पोरेसनको केन्द्रीय कार्यालयले नै कोटा निर्धारण गर्दै आएको छ । जहाँ गत वर्षसम्म चीनको बाटो हुँदै नुन ढुवानी भइरहेको थियो । गत वर्षदेखि कोरोना महामारीका कारण चीनले नाका नखोलेपछि ती डिपोमा आयोडिनयुक्त नुनको ढुवानी हुन नसकेको शाखा प्रमुख धामीले बताए । तल्लो र मध्य डोल्पामा नेपालगन्जबाट नुन ढुवानी हुने गरेको छ ।

सरकारले सदरमुकाम दुनैमा ३ सय, जुफालमा २, त्रिपुरासुन्दरीको लिकुमा ४ सय ५०, मुड्केचुलाको सर्मीमा ३ सय र जगदुल्लाको काइगाउँमा २ सय ५० क्विन्टल आयोडिनयुक्त नुनको कोटा निर्धारण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया