कोरोनाबाट सल्यानमा थप दुईको मृत्यु

सल्यान । कोरोना संक्रमणबाट सल्यानमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा दुवैको मृत्यु भएको हो ।

शारदा नगरपालिका ३ तल्नोबजारका ७१ वर्षीय पुरुष र बाग्चौर नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका क्लिनिकल इन्चार्ज डा. भीमकान्त जैसीले बताए ।

सोमबार दुई पुरुषको मृत्यु भएपछि जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको उनले जानकारी गराए । ‘जिल्लाभित्र ३७ र जिल्ला बाहिर पाँचको मृत्यु भएको छ,’ उनले भने ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । जसमध्ये सक्रिय संक्रमित ७ सय ५२ जना रहेका उनले जानकारी गराए । उनका अनुसार हाल जिल्ला अस्पताल सल्यानमा २७ र संस्थागत आइसोलेसनमा २३ गरी ५० ले उपचार गराइरहेका छन् ।

कूल संक्रमितमध्ये ७ सय २ जना होम आईसोलेसनमा बस्दै आएका र एक महिनाको अवधिमा ५ सय २९ जना निको भएर घर फर्किसकेका उनले बताए ।

तपाईको प्रतिक्रिया