कर्णालीमा दुर्गमका संक्रमितको उद्दार हेलिकोप्टरबाट हुने

सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्दार गर्ने भएको छ। भौगोलिक रुपमा विकट बस्तीका संक्रमितको उपचारका लागि हवाइ उद्दार गर्ने निणर्य प्रदेश सरकारले गरेको हो। सरकारले यसका लागि निजी हवाइ सेवा प्रदायक कम्पनीका हेलिकोप्टर चार्टर गर्नेछ।

प्रदेश सरकारको आइतबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले दुर्गमका संक्रमितको हवाइ उद्दारका लागि आवश्यक बजेट पनि उपलब्ध गराउने निणर्य गरेको छ। बैठकले संक्रमितको हवाइ उद्दार गर्न सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयलाई तत्काल एक करोड बजेट उपलब्ध गराउने निणर्य गरेको छ। प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले दुर्गमका जटिल संक्रमितलाई हेलिकोप्टरबाट उद्दार गरेर सुविधायुक्त अस्पतालमा भर्ना गर्ने निणर्य भएको बताए।

यो निणर्यसँगै प्रदेश सरकारले अब हुम्ला, डोल्पा, मुगु र प्रदेशका अन्य विकट स्थानका संक्रमितको हेलिकोप्टरबाट उद्दार गर्नेछ। मन्त्री शाहीका अनुसार उद्दार गरिएको संक्रमितको जुम्लामा रहेका कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिनेछ।

सुगमका संक्रमितलाई एम्बुलेन्समा र दुर्गमका संक्रमितको हेलिकोप्टरबाट उद्दार गरेर उपचार गरिने प्रदेश सरकारले जनाएको हो। दुर्गममा भरपर्दो उपचार सेवा नभएको र सडक यातायात पनि प्रभावकारी नभएकाले संक्रमितलाई बचाउन हेलिकोप्टर नै विकल्प भएको सरकारको भनाइ छ।

हाल दुर्गमका संक्रमितले उपचारका लागि घरजग्गा नै बेचेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। कतिपयले समयमै उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ। स्थानीयले पाँच देखि १० लाखसम्ममा हेलिकोप्टर चार्टर गर्दै उपचार गर्न बाध्य छन्। यही बाध्यता अन्त्य गर्न र सर्वसाधारणलाई सहज रुपमा उपचार दिलाउन प्रदेश सरकारले नै हेलिकोप्टरबाट संक्रमितको उद्दार गर्ने निणर्य गरेको जनाएको छ।

सरकारको यो निणर्यसँगै दुर्गमका संक्रमितलाई राहत मिल्नेछ। कणर्ालीमा पछिल्लो समय दुर्गम बस्तीसम्म कोरोना संक्रमण फैलिएको छ। जहाँ भरपर्दो उपचार र दक्ष स्वास्थ्यकर्मी छैनन्। यसकारण संक्रमितको उपचारमा कठिनाइ छ।

यस्तै प्रदेश सरकारले सुर्खेतमा तत्काल अक्सिजन प्लान्ट सञ्चालन गर्ने निणर्य गरेको छ। ‘एक महिनाभित्र सुर्खेतमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने निणर्य भएको छ’ मन्त्री शाहीले भने, ‘द्रुत गतीमा प्लान्ट स्थापना गरिनेछ।’ यसअघि सुर्खेतमा स्थापना गरिएका प्लान्टले धान्न नसकेपछि प्रदेश सरकारले ठूलो क्षमताको प्लान्ट स्थापना गर्ने निणर्य गरेको हो। यस्तै कन्सन्ट्रेटर खरिदका लागि पाँच करोड ४५ लाख बजेटसमेत छुट्याएको छ। प्लान्ट स्थापना तथा सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।

तर प्लान्ट सञ्चालनमा आउँदासम्मका लागि अक्सिजन सिलिण्डर खरिद गरिने छ। तत्कालको मागलाई ध्यानमा राख्दै प्रदेश सरकारले अक्सिजन सिलिण्डर खरिदका गर्न सात करोडभन्दा बढी रकम छुट्याएको छ। त्यस्तै संक्रमितको उपचारका लागि अत्यावश्यक मानिने औषधि (रेम्डिसिभिर) लगायतका औषधि खरिद्को लागि एक करोड बजेट छुट्याइएको छ।

रेम्डिसिभर विपन्न नागरिकलाई निःशुल्यक विरतरण गरिने छ। उल्लेखित सबै स्वास्थ्य सामग्री खरिदका लाग प्रदेश स्वास्थ्य निर्देशनालयलाई अनुमति दिने निणर्य गरिएको छ। तत्कालका लागि महामारी नियन्त्रण गर्न बैठकले १३ करोड ८० लाख बजेट उपलब्ध गराउने निणर्य भएको मन्त्री शाहीले जानकारी दिए। यो समाचार अन्नपुर्ण पोस्टमा छ ।


तपाईको प्रतिक्रिया