दैलेख । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणमा नआएपछि दैलेखमा थप एक साता निषेधाज्ञा थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो । जिल्लामा संक्रमणको दर बढ्न थालेपछि पहिलो चरणमा वैशाख २१ देखि वैशाख २८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले दोस्रो चरणमा वैशाख २८ देखि जेठ ४ गतेसम्मका लागि म्याद थप गरेको थियो ।
संक्रमणको दर वृद्धि भइरहेको भन्दै प्रशासनले तेस्रो पटक निषेधाज्ञाको म्याद थप गरेको हो । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले तेस्रो पटक निषेधाज्ञाको म्याद थप गरेको हो । अहिलेसम्म संक्रमितको संख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । जेठ ११ गतेसम्म लागु हुने गरी निषेधाज्ञाको समय थप गरिएको उनले बताए ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहार मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकका एटिएम सञ्चालनमा रहनेछन् । बैंकका आन्तरिक, प्रशासनिक र राजस्व संकलनका कामहरु मात्रै सञ्चालन हुनेछ । यस्तै एग्रोभेट सेवा, कोभिड-१९ आइसोलेसन व्यवस्थापन लगायतका सेवाहरु सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । सार्वजनिक निर्माण कार्यहरु निर्माणस्थलमै रहेर सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।



दर्शन खबर । ६ जेष्ठ २०७८, बिहीबार