सुर्खेत । अक्सिजन अभाव भएपछि कर्णाली प्रदेश कोभिड अस्पतालले नयाँ संक्रमित भर्ना नगर्ने भएको छ ।
बाँकेको नेपालगन्जबाट आवश्यक अक्सिजन आउन छोडेपछि नयाँ संक्रमित भर्नामा समस्या भइरहेको हो। प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्काका अनुसार बुधबारबाट दैनिक ५० वटा सिलिन्डर अक्सिजन मात्रै नेपालगन्जबाट आइरहेको छ ।
बुधबार अघिसम्म सुर्खेतमा दैनिक १३० देखि १५० सम्म अक्सिजन सिलिन्डरहरु आउँथ्यो। बाँकेमा दुईवटा अक्सिजन प्लान्ट छन् । स्थानीयको अवरोधका कारण बाहिरबाट अक्सिजन भर्न जानेहरु समस्यामा पर्ने गरेका छन् । डा. केसीले जनशक्ति र बेड भएपनि अक्सिजन अभावकै कारण नयाँ बिरामी भर्ना लिन नसक्ने अवस्थामा अस्पताल पुगेको बताउनुभयो ।
कर्णाली प्रदेश अस्पतालमा अहिले ९८ जना संक्रमितहरुको उपचार भइरहेको छ । अक्सिजनको मात्रा पर्याप्त भएमा दुई सयसम्म कोरोना संक्रमितहरुलाई उपचार गर्न सकिन्छ ।
बाँके जिल्ला प्रशासन कार्यालयले सुरुमा भेरी अस्पताल र त्यसपछि कोहलपुर मेडिकल कलेजका लागि आवश्यक अक्सिजन सिलिण्डर नभर्दासम्म अन्य जिल्लाबाट लगिएका सिलिण्डरहरु भर्न दिँदैन् । सुर्खेतमा श्रीराम सप्लायर्स र पवनपुत्र ट्रेडर्सले मात्रै अक्सिजन वितरण गर्ने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी छवी रिजालले अक्सिजन आपूर्तिलाई सहज बनाउन छलफल भइरहेको बताउनुभयो ।



दर्शन खबर । ३१ बैशाख २०७८, शुक्रबार