प्रधानमन्त्री ओलीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

हिजो राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्नुभएको थिएन् ।

त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

यसका साथै पुरानै मन्त्रीलाई निरन्तरता दिएर नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ । नयाँ मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरूलाई दोहोर्‍याउनुभएको छ । राष्ट्रपति शितल निवासमा पुरानै मन्त्रीहरूलाई पुनः जिम्मेवारी दिनुभएको हो ।

उपपप्रधानमन्त्रीमा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री मणि थापा, भौतिक योजना तथा पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले, महिला, बालबालिका तथा ज्येष्ठानागरिकमन्त्री जुलिकुमारी महतोले पुनः शपथ लिनुभएको हो ।

प्रधानमन्त्री ओलीले तीनजना राज्यमन्त्रीलाई पनि पुरानै जिम्मेवारीमा दोहोर्‍याएका छन् । सहरी विकास राज्यमन्त्रीमा रामवीर मानन्धर दोहोरिएका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा नवराज राउत दोहोरिएका छन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको राज्यमन्त्रीमा विमला विक दोहोरिएकी छन् । उनीहरूले पनि शपथ लिएका छन् ।

यसैविच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताउनुभएको छ । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले महामारीको अहिलेको समयमा सेवाभावका साथ सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले मुलुकका सबै अक्सिजन उद्योग पूणर् क्षमतामा चलाउन पनि आग्रह गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया