
सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाही विच मंगलवार प्रदेश प्रमुखको कार्यालयमा नियमित भेटघाट भएको छ । नियमित भेटघाट कार्यक्रमा कोभिड १९ (कोरोना भाइरस) नियन्त्रण र प्रतिकार्यको लागि छलफल भएको जनाईएको छ ।
भेटघाटमा प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिको बारेमा कुराकानी केन्द्रित भएकोथियो । भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिड माहामारी फैलिन नदिनेगरी काम भइरहेको प्रदेश प्रमुख कलौनी समक्ष जानकारी गराएका छन् ।
कोभिड १९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले प्रर्याप्त बजेट विनियोजन गरेको समेत उनले जानकारी दिए । प्रदेश सरकारले कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् ५० करोड विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाएको शाहीको भनाई छ ।
प्रदेश प्रमुख कलौनीले कोभिड १९ रोकथाम तथा प्रतिकार्यमा प्रदेश सरकारले गरिरहेको काम सन्तोषजनक रहेको बताउँदै चेकजाँचको दर बढाउन र संक्रमितहरुलाई उपचार गरी जीवन बचाउने सवालमा कुनै कसर बाँकी नराख्नेगरी संयन्त्रहरु परिचालित गर्न सुझाव दिए ।


दर्शन खबर । २८ बैशाख २०७८, मंगलवार