अक्सिजन, भेन्टिलेटर, औषधि र खोपको पर्याप्त व्यवस्था गर्न माग


सुर्खेत ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतले वर्तमान सरकारसँग अक्सिजन, भेन्टिलेटर, औषधि र खोपको पर्याप्त व्यवस्था गर्न माग गरेको छ । जिल्ला कार्यसमिति सुर्खेतले सोमवार एक विज्ञप्ति जारी गर्दै जनताको जीवन रक्षाका लागि आवश्यक पर्ने अक्सिजन, औषधि, खोप सम्बन्धित अस्पतालहरुमा तत्काल व्यवस्था गर्न माग गरेको हो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति कमलराज रेग्मीको हस्ताक्षेरित विज्ञप्तिमा अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर, औषधिको अभाव रहेको, अक्सिजन नपाएर विरामीहरु छटपटिरहेको र अस्पताल तथा बेड खोज्दै ज्यान गुमाउनु परेकोहुँदा सरकारले नियन्त्रण तथा रोकथामका लागि न्यूनतम जिम्मेवारी बोधसम्म गर्न नसकेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा जनताको जीवनरक्षा गर्ने खोपमा समेत भ्रष्टाचार गर्नु मानवीय पराकाष्ठाको उदाहरण वर्तमान सरकारले प्रस्तुत  गर्नुले जनतामाथि अक्षम्य अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कडा कारबाही गर्न काँग्रेसले माग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मीलगायत मजदुर बर्ग सवैले आ—आफ्नो स्थानबाट खटिएर यो संकटलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया