प्रतिमा परियार
जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउने घरेलुहिंसाका घटनाको गत चार वर्षको तथ्याङ्क हेर्दा ८५ प्रतिशत घटना मिलापत्रमै टुङ्गिने गरेका छन् । शारीरिक, मानसिक र आर्थिक रूपमा यातना दिएको भन्दै प्रहरीमा उजुरी आए पनि त्यस्ता घटना अदालतसम्म नपुग्ने गरेका हुन् ।
गएका चार वर्षमा एक हजार ६ सय ५० घरेलुहिंसाका घटना दर्ता भएका छन । श्रीमान्ले मदिरा सेवन गरी शारीरिक यातना दिएको, खानलाउन नदिएको, गालीगलौच गरेको भन्दै दर्ता भएका उजुरीमध्ये एक हजार चार सय १४ घटना मिलापत्रमै टुङ्गिएका छन । बाँकी दुई सय ३१ घटना अदालती प्रक्रियामा लगिएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा दर्ता भएका तीन सय ७२ घरेलुहिंसाका घटनामा मदिरा सेवन गरी शारीरिक यातना दिएको भन्दै ९८ उजुरी दर्ता भएका थिए । जसमध्ये ६८ घटना मिलापत्रमै टुङ्गिए । ३० वटा घटना मात्रै अदालती प्रक्रियामा लगियो । सोही आर्थिक वर्षमा मानसिक यातना श्रीमान् तथा घरका अन्य सदस्यले गालीगलौच गरेको भन्दै एक सय ६७ घटना दर्ता भएकोमा एक सय ५४ घटना मेलमिलापबाटै मिलाइयो । बाँकी १३ घटना अदालती प्रक्रियामा गए । आर्थिक तथा अन्य यातना दिएको भन्दै सोही आर्थिक वर्षमा दर्ता भएका एक सय सात घटनामा ९३ मेलमिलापमा टुङ्गिएका थिए भने १४ घटना अदालती प्रक्रियामा गएको प्रहरीको तथ्याङ्क छ ।
त्यस्तै, आर्थिक वर्ष २०७४÷०७५ मा दर्ता भएका चार सय ५९ घटनामा चार सय आठ वटा मिलापत्र गरिएको छ । तीमध्ये ५१ घटना अदालती प्रक्रियामा गएको प्रहरीले जनाएको छ । जसमध्ये मदिरा सेवन गरी श्रीमान्ले हिंसा गरेको भन्दै दर्ता भएका एक सय दुई घटनामध्ये ८८ मिलापत्र गरेको र १४ घटना अदालती प्रक्रियामा अगाडि बढाएको, मानसिक यातनाका दुई सय तीन घटना दर्ता भएकोमा एक सय ८८ मिलापत्र भएको र १५ घटना अदालती प्रक्रियामा गएका हुन । आर्थिक यातना दिएको भन्दै सोही वर्ष दर्ता भएका एक सय ५४ घटनाका उजुरीमा एक सय ३२ मिलापत्र भएको र २२ घटना अदालती प्रक्रियामा गएको प्रहरीले जानकारी दिएको छ ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतकी कार्यपालिका सदस्य तथा सामाजिक समितिकी संयोजक यमुना नेपालीले विवादको प्रकृति अनुसार मेलमिलापबाटै विवाद समाधान गर्दा राम्रो हुने बताइन ।
आर्थिक वर्ष २०७५÷०७६ मा पनि घरेलु हिंसाका थुप्रै उजुरी प्रहरीमा आए । दर्ता भएका तीन सय ५३ उजुरीमध्ये दुई सय ९२ मेलमिलापमा टुङ्गिए भने ५६ घटना अदालती प्रक्रियामा गएका थिए । जसमध्ये मदिरा सेवनगरी शारीरिक यातना दिएको भन्दै दर्ता भएका एक सय २२ घटनामा एक सय चार मिलापत्र गरिएको हो । लैंङ्गिकहिंसा तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको आवाज संस्था सुर्खेतकी सिनियर काउन्सिलर निशा पौडेलले समस्या पहिचान गरेर मात्रै मेलमिलाप गर्नुपर्ने औल्याइन । दुवैै पक्षलाई जित–जितको वातावरण सिर्जना गराउन सकियो भने मात्रै दिगो रूपमा समस्या समाधान हुने उनको भनाइ छ । पछिल्लो समय महिला हिंसाका घटनाहरू बाहिर आउने क्रम बढेको छ । हिंसाका घटना भए न्यायका लागि प्रहरी तथा अदालतसम्म सम्बन्धित निकाय पुग्ने गरेका हुन ।


दर्शन खबर । १६ आश्विन २०७७, शुक्रबार