कर्णालीमा मल अभाव


प्रतिमा परियार
कर्णालीमा रासायिनिक मलको चरम अभाब भएको छ । चार–पाँच महिनायता रासायनिक मल युरिया आयात नभएपछि किसानहरू मर्कामा परेका छन । बजारमा मलको हाहाकार भएपछि उनीहरू चिन्तित भएका हुन ।
साउन १५ देखि भदौ १५ सम्म धान गोडमेल गर्ने समय हो । यतिबेला धान गोडमेलसँगै किसानहरूले खेतबारीमा मल हाल्ने गर्छन् । कर्णालीमा भने यसैबेला मलको चरम अभाव छ । मल नपाएपछि खाली धान गोडमेल गर्ने काम मात्रै गरेको किसानहरूले बताएका छन् । मलको अभावका कारण यो वर्ष धान उत्पादनमा कमी आउने उनीहरूको चिन्ता छ । रासायनिक मल नपाउँदा यस वर्ष किसानले थप सास्ती खेप्नु परेको हो ।
वीरेन्द्रनगर–२ कोलडाडाकी साबित्रा अधिकारीले मल अभाव भएपछि आफूहरू समस्यामा परेको बताइन् । उनले समयमै धानमा मल हाल्न नपाउँदा रोग लाग्न थालेको सुनाइन् । खेतबारीमा मल नै नहालेपछि धानको उत्पादन घट्ने चिन्ता व्यक्त गरिन् ।
सहरकारीमार्फत मल पाइरहेका किसानले मलको अभाव भएपछि निजी एग्रोभेटबाट महङ्गोमा मल लिन बाध्य छन । तर, त्यहाँ पनि पर्याप्त मल भने पाइएको छैन । २५ रूपैयाँ किलो पर्ने यूरिया मललाई अहिले यहाँका किसानले ५५–६० रूपैयाँमा किन्नु परिरहेको छ । वीरेन्द्रनगर–१२ का किसान वासुदेव उपाध्यायले बजारमा युरिया मलको हाहाकार हुँदा महङ्गी पनि उत्तिकै बढेको बताए । किसानहरूले मल हाल्नुपर्ने सिजनमै चरम अभाव भोगिरहेको उनको भनाइ छ ।
कर्णालीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले युरिया मल आपूर्ति गर्दै आएका छन । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख टोपाराम गौतम अहिले यहाँ मात्रै नभएर देशभर मलको अभाव भएको बताउँछन । उनले कर्णालीमा चैतदेखि नै यूरिया मल भित्रिन नसकेको बताए । उनका अनुसार धान रोपेको एक महिनापछि कर्णालीका सुर्खेत, दैलेख र कालीकोटमा मात्र झण्डै पाँच सय मेट्रिक–टन मल आवश्यक पर्छ । तर, कोरोना महामारीका कारण लकडाउन भएपछि चैतयता बाहिरबाट मल नै आएको छैन । कार्यालय प्रमुख गौतम भन्छन, ‘रोपाइँका लागि आवश्यक पर्ने चैतअघि नै आएको मल हामीले किसानहरूलाई बाँडिसक्यौं । धान गोडमेल गर्ने समयमा मल जरुरी हो । यतिबेलै मल आएको छैन ।’ कोरोनाका कारण मल उत्पादन गर्ने उद्योग अझै पूर्ण रूपमा खोलीनसकेकाले सबै ठाउँमा मलको अभाव रहेको र तत्काल आउने अवस्था पनि नरहेको उनको भनाइ छ ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले तीनरतीन सय मेट्रिक–टन यूरिया र डीएपी मल ल्याउने प्रक्रिया थालिएको जानकारी दिए । पछिल्लो समय किसानहरूबाट मलको माग बढ्दो भए पनि आपूर्ति नहँुदा समस्या भएको उनले बताए । सूचना अधिकारी कठायतका अनुसार गएको वर्ष कर्णालीमा जेठसम्मको तथ्याङ्क हेर्दा चार हजार एक सय ६४ मेट्रिक–टन मल आपूर्ति भएको थियो ।

तपाईको प्रतिक्रिया